इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइरालाले समयमै नियमित महाधिवेशन गर्न प्रस्ताव राखेका छन् ।
काँग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै कोइरालाले विशेष महाधिवेशनको लागि सङ्कलित हस्ताक्षरलाई लिएर गलत टिप्पणी गर्न नहुने धारणा राखेका हुन् ।
नियमित महाधिवेशन गराउन सके विशेष महाधिवेशनको लागि सङ्कलित हस्ताक्षरको समेत सम्मान हुने उनले बताए । 
गत भदौ २३ र २४ गते भएको जेजनी आन्दोलनमा सूचनाको पहुँच कमजोर हुनु गलत भएको कोइरालाको भनाइ छ । जेनजीले उठाएका मागहरूलाई सम्बोधन गर्नुपर्ने बताउँदै उनले सभापति शेरबहादुर देउवाको सम्बोधनको प्रशंसा गरे ।
यसअघि ‘इनफ–इज–इनफ’को आन्दोलनलाई सही ढङ्गले बुझेको भए यो अवस्था नआउने उनले स्मरण गराए । पार्टीहरू सूचनाको पहुँचमा नपुगेर भुत्ते भएको उनको धारणा छ ।   
सर्वप्रथम बोलेका डाक्टर शेखर कोइरालाले समेत हस्ताक्षर सङ्कलन अभियानले पार्टीमा ऊर्जा बढाएको बताएका थिए । मङ्सिरमै नियमित महाधिवेशन गर्न उनले प्रस्ताव गरेका छन् । कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले नियमित महाधिवेशन मार्फत हस्ताक्षर सङ्कलनको माग सम्बोधन गर्ने बताएका छन् । 
अनुशासन समितिको सदस्य समेत रहेका कोइरालाले कारबाही फुकुवा गर्न माग राखे । अनुशासन समितिले बहुमतको आधारमा कारबाही गरेपछि असन्तुष्ट गरेका कोइरालाले फरक मत दर्ता गराएका थिए ।