धरान : राणाकाल २००४ सालमा बालिकाहरूलाई मात्र पढाउने भनी सुरु गरिएको हाल कोशी प्रदेशकै पहिलो छात्राहरू मात्र पठन पाठनका हुने शारदा बालिका नमुना माध्यमिक विद्यालयले ७५औँ वर्ष पुरा गरेकोमा हीरक महोत्सव मनाउने तयारी गरेको छ ।

२००५ साल देखी औपचारिक विद्यालयको रूपमा सञ्चालन हुन थालेको उक्त विद्यालय त्यसबेला पूर्वकै प्रसिद्ध विद्यालय थियो । तत्कालीन धरान-१ सिंहदेवी चौक स्थित विद्यालय भवनमा सञ्चालित स्कुल २०४५ सालको भूकम्पमा क्षतिग्रस्त बन्यो ।

२०४६ सालदेखि स्विस रेडक्रस र स्विस सोलिडारिटि चेनको सहयोगमा धरान-१६ मा २ करोड १० लाख रुपैयाँको लागतमा सुविधा सम्पन्न छुट्टाछुट्टै आधा दर्जन भवन सहित विद्यालय परिसर निर्माण भएको हो । स्कुलमा बुधवार आयोजित पत्रकार सम्मेलनमा संयोजक पदमप्रसाद लुइँटेलले हीरक महोत्सव जेठ २४ देखी ३१ गते सम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइने बताए ।

व्यवस्थापन समिती अध्यक्ष दिभा श्रेष्ठले आफू व्यवस्थापन समितिमा आएपछि स्कुललाई नयाँ गति दिने योजन अघि बढाएको बताइन् । पछिल्लो समय अङ्ग्रेजी माध्यमका निजी विद्यालयहरू सँग प्रतिस्पर्धा, अभिभावकहरूको सोचाइमा आएको परिवर्तनका कारण छात्राहरू मात्र पढाई हुने विद्यालयले समस्याको सामना गर्नु परेको उनको भनाई थियो ।

अध्यक्ष श्रेष्ठका अनुसार विद्यालयमा आकर्षण बढाउन प्राविधिक विषयको पठनपाठन थप गर्ने योजनामा काम भइरहेको छ । उनले भनिन् ‘छात्राहरूको स्कुल भएकोले फेसन डिजाइन तथा ब्युटी पार्लरको प्राविधिक विषय उपयुक्त हुने हामीले ठहर गरेका छौँ ।’ विद्यालयमा हाल प्लस टूमा शिक्षा र व्यवस्थापन विषयको पठन पाठन भइरहेको छ ।

विद्यालयको निर्मित भौतिक पूर्वाधार पर्याप्त छ र थप पूर्वाधार निर्माणका लागि विश्वविद्यालय नै सञ्चालन गर्न सकिने क्षेत्रफल छ । विद्यालयमा हाल छात्राहरूको सङ्ख्या ५०० छन् । शिक्षक कर्मचारी २५ जना छन् । विद्यालय परिसरमा २५ जना छात्रा बस्ने छात्रावास छ । फुटबल ग्राउण्ड, बास्केटबल कोर्ट र परिसर भित्रै क्यान्टिन पनि सञ्चालनमा छ ।

विद्यालयमा ४४ जना छात्रवृत्ति दाताहरूबाट ३२ लाख छात्रवृत्ति कोषमा स्थापना गरिएको छ । उक्त कोषबाट वार्षिक दुई दर्जन गरिब, जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

प्रधानाध्यापक धर्मनारायण सिंहले विद्यालयको पुरानो साख फर्काउन हीरक महोत्सवले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । महोत्सवमा विद्यालयका पूर्व विद्यार्थी, शिक्षक तथा स्थापनाकालमा योगदान गरेका दाताहरूलाई सम्मान गरिने कार्यक्रम छ ।

महोत्सवमा विद्यार्थी तहमा स्वास्थ्य, साहित्य र खेलकुदका कार्यक्रमहरू राखिएका छन् । अभिभावकहरूमा  क्यान्सर सचेतना, पाठेघरको मुख क्यान्सर परीक्षण, अभिभावक शिक्षा कार्यक्रम आयोजन गरिने छन् ।

आँखा परीक्षण, रक्तदान, हाडजोर्नी परीक्षणका शिविरहरू महोत्सव भर सञ्चालन गरिने छ । नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता, कविता प्रतियोगिता, नगर स्तरीय  हाजिरी जवाफ प्रतियोगिता सहित महोत्सव समापन गरिने छ ।

हीरक महोत्सवका लागि विद्यालयले व्यवस्थापन समितिकी अध्यक्ष दिभा श्रेष्ठको अध्यक्षतामा सङ्घीय सांसद, प्रदेश सांसद, विद्यालयका पूर्व प्रधानाध्यापक, शिक्षक, व्यवसायी, समाजसेवी सहितको १०१ जनाको मूल समारोह समितिसमेत गठन गरेको छ ।