धरान : धरान उपमहानगरपालिकामा शिक्षा महाशाखा प्रमुख नहुँदा शिक्षकहरूको वृत्ति विकास लगायतका कार्य सम्पादनमा समस्या भएको शिक्षकहरुले बताएका छन् ।

महाशाखामा शिक्षा अधिकृत/उपसचिव व्यवस्थापन गर्न मेयर हर्क साम्पाङलाई सामुदायिक विद्यालयका शिक्षकहरुले बिहीबार माग पत्र बुझाएका हुन ।

धरानका सामुदायिक विद्यालयमा कार्यरत २९१ जना शिक्षकको हस्ताक्षर सहित महाशाखा प्रमुख व्यवस्थापन गर्न मेयर साम्पाङलाई ध्यानाकर्षण गराएका हुन ।  

नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ द्वारा स्थानीय सरकारलाई प्रदत्त शिक्षा सम्बन्धी अधिकारहरूप्रति पूर्ण प्रतिबद्ध रहन मागपत्रमा ध्यानाकर्षण गराइएको छ ।

मागपत्रमा भनिएको छ ‘धरान उपमहानगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुखका रूपमा शिक्षा अधिकृत/उपसचिवको व्यवस्था नभएका कारण हामी धराने शिक्षकहरूको वृत्ति विकास लगायतका कार्यमा’ समस्या उत्पन्न भएको उल्लेख छ ।  

शिक्षक सेवा आयोग नियमावली २०५७ अनुसार जारी परिपत्रको आधारमा स्थायी शिक्षकहरूको आन्तरिक बढुवा प्रयोजनका लागि कार्य सम्पादन मूल्याङ्कन फाराममा स्थानीय तहमा कार्यरत सङ्केत नम्बर (सिट रोल नम्बर) प्राप्त शिक्षा अधिकृत/निजामती अधिकृतले मात्र सिफारिसकर्ता/ मूल्याङ्कनकर्ताका रूपमा हस्ताक्षर गर्न पाउने व्यवस्था पत्र उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा शिक्षासम्बन्धी कार्य गर्न शिक्षाको साङ्गठनिक संरचनाका शिक्षा शाखा/महाशाखा महाशाखा प्रमुख शिक्षा सम्बन्धी शाखा अधिकृत उपसचिव रहने व्यवस्था भएको पत्रमा स्मरण गराइएको छ ।

धरान उपमहानगरमा शिक्षा महाशाखा प्रमुखमा शिक्षा अधिकृतको व्यवस्था नभएको कारण धरानका स्थायी शिक्षकहरूको बढुवा लगायतका वृत्ति विकासमा दूरगामी असर परेको उल्लेख गर्दै शिक्षकहरुले शिक्षा महाशाखा प्रमुखमा शिक्षा अधिकृतको तत्काल व्यवस्था गर्न माग गरिएको छ ।

धरानमा प्रावि तहका १३१, निमावि तहका ८९ जना र मावि तहका ७१ जना गरी कुल २९१ जना शिक्षक कार्यरत छन् ।

Teachers-PR