इटहरी : बर्षेनी भैँसी पालक किसानहरू घट्दै गएपछि भैँसीपालन तर्फ आकर्षित गर्न सुनसरीको इटहरीमा भैँसी प्रतियोगिता आयोजना गरिएको छ । 

भैँसीपालन गर्दै आएका किसानहरू अन्य पशुपालन तर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानहरूको प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको हो । 

इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले सुनसरी र मोरङ जिल्लामा भैसीपालन गर्दै आएका किसानहरू बिच प्रतिस्पर्धा आयोजना गरेको हो । 

दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ । सुनसरीको इटहरी र मोरङको सुन्दरहरैँचाका ३० जना किसानका ५० वटा भैँसी प्रतियोगितामा सहभागिता गराइएको थियो । 

प्रतियोगितामा इटहरी ३ का चन्द्र बहादुर बस्नेतको भैँसी प्रथम भएको छ । यस्तै सुन्दरहरैँचा-५ की पदम कुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको छ ।

यसैगरी सुन्दरहरैँचा–५ कै तीर्थ कुमारी लिम्बुको भैँसी सान्त्वना भएको कार्यक्रम संयोजक तथा संस्थाका सचिव राजन धमलाले जानकारी दिए । 

भैँसी प्रतियोगिताका निर्णयमा भेटनरी अस्पताल सुनसरीका प्रमुख कुमार सिंह खत्री, इटहरी उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख डा. दुर्गा बहादुर श्रेष्ठ र ईलारी संस्थाका कार्यक्रम संयोजक एणमणि नेपाल रहेका थिए । 

भैँसीको स्वास्थ्य, रुप, जिउडाल, जात, दूधको उत्पादन लगायतका गुणका आधारमा तीन सदस्य निर्णायक टोलीले विजेता भैँसी घोषणा गरेका थिए ।

प्रतियोगिताका विजेता भैँसी धनी किसानहरूलाई नगद सहित प्रमाण पत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक राधन धमलाले जानकारी दिए । 

पछिल्लो समय किसानले भैँसी पाल्न छाड्न थालेकोले यसको महत्त्व बुझाउन प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष खेम काफ्लेले जानकारी दिए ।

भैँसीपालक किसानहरूलाई प्रोत्साहन गर्नका बर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको संस्थाका व्यवस्थापक ध्रुव कोइरालाले बताए । विगतका वर्षमा भन्दा यस वर्ष किसानकै घर दैलोमा पुगेर प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ । 

दुग्ध उत्पादक सहकारी संस्थाले किसानबाट उत्पादन भएको दूध सङ्कलन, विक्री वितरण गर्दै आएको छ भने आवश्यक ऋण सहितको सुविधा दिँदै आएको व्यवस्थापक कोइरालाले जानकारी दिए ।