धरान : परिवर्तनका लागि सामाजिक अभियानको आयोजनामा शनिवार भएका ५४ औँ निःशुल्क स्वास्थ्य शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहले ९५ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका छन् ।

अभियानले ३ वर्ष अघिदेखि धरानका वडाहरूमा निःशुल्क सामाजिक स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ । यसै क्रममा ५४ औँ पटक सुनसरी उद्योग वाणिज्य सङ्घको भवनमा सम्पन्न भएको हो ।

ज्येष्ठ नागरिकहरूका लागि आयोजित शिविरमा विशेष गरी मुटु, मधुमेह र रक्तचापका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको छ । शिविरमा निःशुल्क सुगर परीक्षण र औषधि वितरण गर्ने गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

“हामीले बुवाआमाको सुस्वास्थ्य र दीर्घायुको निम्ति विगत ३ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरिरहेका छौँ ।” बरालले भने । शिविरमा बिरामी हुनुभन्दा रोग लाग्न नदिन विशेष गरी खानपान सम्बन्धमा डाक्टर शाहले सुझाव दिने गरेको समेत बरालले बताएका थिए ।

उनका अनुसार यसपालि धरान रेडिमेट व्यापार सङ्घको सहकार्यमा निःशुल्क सामाजिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

संयोजक शिशिर बरालका अनुसार शिविरमा वीपी प्रतिष्ठानका स्टाफ नर्स उषा चौधरी र स्वेता भण्डारीले रक्तचाप र सुगर परीक्षण परीक्षण गरेका थिए । वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ प्रमुख अतिथि थिए ।

समापनमा रेडिमेड सङ्घका अध्यक्ष ज्ञानशोभा शाक्यले स्वास्थ्य शिविरमा सहकार्य गर्न पाएकोमा सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिइन्। कार्यक्रममा मोहन श्रेष्ठ, वर्षा श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य लगायतका अभियन्ताहरू सहजीकरण गरेका थिए ।

health-sibri-54th-2