दमक : राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमका बिच दमक नगरपालिकाले समुदायीक विद्यालयका सेवा निवृत्त शिक्षक तथा एसइईमा उत्कृष्ट विद्यार्थीलाई सम्मानित गरेको छ ।

नगरपालिका क्षेत्रका विद्यालयहरूबाट सेवा निवृत्त भएका ७ जना शिक्षक र गए वर्षको एसइईमा उत्कृष्ट अङ्क ल्याएका ६ जना विद्यार्थीलाई नगरपालिकाले सम्मान गरेको हो ।

सम्मानित सेवा निवृत्त शिक्षकहरूमा पाणिनि माविका दुर्गा काफ्ले, चुलाचुली माविका होमनाथ ढकाल, ढुकुर पानी माविका नेत्रप्रसाद अधिकारी र हेमराज खड्का, पृथ्वी माविका डम्बर कुमार राई, सिंहदेवी माविका सरस्वतीप्रसाद उपाध्याय र पशुपति संस्कृत माविका देवीकुमार रिजाल छन् ।

एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूमा एभरेस्ट बोर्डिङ स्कुलका विवेक थापा, हिमालय माविका  स्वस्तीका श्रेष्ठ र आदित्य वस्ती र ग्लोबल बोर्डिङ स्कुलका श्रीजना श्रेष्ठ साथै फरक क्षमता भएका उत्कृष्ट शरस्वती माविका निर्मला कार्की र ग्लोबल बोर्डिङ स्कुलका भाष्करदेव राई छन् ।

विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप नगद ११ हजार रुपैयाँ सहित प्रमाणपत्रबाट सम्मान गरिएको छ । उक्त अवसरमा प्रमुख अतिथि नगर प्रमुख राम थापाले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई हौसला स्वरूप सम्मान गरिएको बताए । सेवा निवृत्त शिक्षकहरूको लामो शैक्षिक सेवाको कदर गर्दै नगरपालिकाले सम्मान गरेको बताए ।

उप प्रमुख रेगिना भट्टराईले विद्यालय शिक्षा सक्ने बित्तिकै अहिले विदेश जाने क्रम चलेकोले यसलाई रोक्नुपर्ने बताइन् । उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै उनले विदेश जाने सोच त्यागी मुलुक बनाउने जिम्मेवार नागरिक बन्न आग्रह गरिन् । सेवा निवृत्त शिक्षकहरूलाई जीवनको अनुभव सामाजिक कार्यमा लगानी गर्न आग्रह गरिन् ।

शिक्षा युवा तथा खेलकुद समिति संयोजक दमक ९ का वडा अध्यक्ष कुवेर प्रसाद भट्टराईको सभापतित्वमा भएको समारोहमा सेवा निवृत्त शिक्षक शारदाप्रसाद उपाध्यायले लामो समय सम्म विद्यालयमा काम गर्दाको सम्झना कविता मार्फत प्रकट गरेका थिए ।