धरान : डेङ्गु महामारीमा वडावासीलाई प्राथमिक उपचार सुविधाका लागि शिविर सञ्चालन गर्दै आएको धरान वडा १३ कार्यालयलाई नयोङहाङ समाज नेपालले औषधोपचारका सामग्री सुरक्षित राख्न डिप फ्रिज प्रदान गरेको छ ।
उक्त फ्रिज आज मङ्गलवार दाता नियोङहाङ समाज नेपालका पदाधिकारीहरूको उपस्थितिमा समाजका अध्यक्ष सुरेश नयोङहाङले वडाध्यक्ष काफ्लेलाई हस्तान्तरण गरेका हुन् ।
उक्त अवसरमा अध्यक्ष नयोङहाङले धरानमा ४ महिना देखि डेङ्गु महामारी फैलिएको तर धरान उपमहानगरपालिकाबाट वडाको शिविरलाई कुनै सहयोग नभएकोले सहयोग स्वरूप फ्रिज प्रदान गरिएको बताए । उनले भने ‘मेयर हर्क साम्पाङले सामाजिक सञ्जालमा भाइरल हुने बाहेक डेङ्गु रोकथामका लागि केही प्रयास गरेको देखिएन ।’
वडा कार्यालयलाई प्राप्त ११० लिटर क्षमताको डिप फ्रिजको २५ हजार रुपैयाँ परेको हो । फ्रिजमा आईसबक्स रहेको, बालबालिकालाई लगाइने बिसिजी, डिपिटी जस्ता खोपहरू राख्नको लागि प्रयोग गरिने वडाध्यक्ष नेत्र काफ्लेले बताए ।
उनका अनुसार फ्रिज हाल डेङ्गु शिविरमा प्रयोग गरिने शिविर सकिएपछि वडा कार्यालयमा सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रयोग हुने बताए । फ्रिज भएपछि स्वास्थ्य शिविरका साथै वडा कार्यालयको स्वास्थ्य केन्द्रका संवेदनशील औषधोपचारका सामग्री सुरक्षित राख्न सजिलो हुने वडाध्यक्ष काफ्लेको भनाई छ ।
धरानमा डेङ्गु महामारीको कारण १५ जनाको मृत्यु भैसकेको छ । वडावासीको लागि वडा १३ कार्यालयले शिविर सञ्चालन र डेङ्गु नियन्त्रणको प्रभावकारी कार्य गर्दै आएको छ ।



































































