• सुकदेब चौधरी

इनरुवा : विपन्न परिवारलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याउन सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको छ । गाउँपालिकाले हाल ३ सय ५० घर परिवारका सदस्यहरूलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड वितरण गरेको हो ।

स्वास्थ्य सेवामा गरिब, विपन्न परिवारको पहुँच पुर्‍याउन उनीहरूका लागि गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले बताए ।

उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाले तेस्रो पटक अति गरिब तथा विपन्न परिवारलाई शुक्रवार गाउँपालिका सभा हलमा एक कार्यक्रम सपच बिमा कार्ड वितरण गरेको हो ।

अध्यक्ष अख्तरका अनुसार स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले गाउँपालिकाका विपन्न चार सय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता कार्यान्वयन गर्दै  बिमा कार्ड वितरण गरिएको हो ।

गाउँपालिकाले पहिलो पटक वडा ३ का ५० घरपरिवार, दोस्रो पटकमा वडा २ र ४ का १५० घरपरिवार, तेस्रो पटक १५० परिवार गरी ३५० घरपरिवारका सदस्यहरूलाई निःशुल्क स्वास्थ्य बिमा कार्ड गरेको छ ।

गाउँपालिकाका स्वास्थ्य बिमा संयोजक असफाक आलमका अनुसार बाँकी रहेका ५० घरपरिवारलाई असारको दोस्रो हप्तामा कार्ड वितरण गरिने छ ।कार्यक्रममा अध्यक्ष अख्तरले स्वास्थ्य उपचारबाट कोही पनि वञ्चित नहोस्, उपचार नपाएर कसैको उपचार अकालमा मृत्यु नहोस् भनेर निःशुल्क बिमा गरिएको बताए । उनले गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे ,उपाध्यक्ष सुनिता उराँव, वडा २ का अध्यक्ष आलम अन्सारी, वडा ८ का अध्यक्ष उस्मान अन्सारी, स्वास्थ्य शाखाका हिरालाल साह र विमितहरु उपस्थित थिए ।