धरान : स्थानिय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासङ्घसँग दुवै पक्षले प्रतिबद्धता जनाउने विषयमा सहमतिको कुरा अन्तिम चरणमा पुगेको बताएका छन् । हिजो बिहीबार आयोजित ‘दिव्य रोशनी’ पत्रिकाको वार्षिकोत्सवमा उनले उक्त कुरा बताएका हुन् ।

मेयर साम्पाङले भने ‘पत्रकार महासङ्घ सँग सहमति सम्झौता गर्ने कुरा भएको छ, केही प्रतिबद्धता आफ्नो तर्फबाट र पत्रकार महासङ्घको पनि प्रतिबद्धता हुनुपर्ने कुरा भएको छ ।’ उनले आफू प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताए।

धरान उपमहानगरपालिकाको मेयरले बोल्न नदिएको भन्दै पत्रकार महासङ्घ सुनसरीले आन्दोलन गर्नु उचित नभएको बताउँदै उनले भने ‘नगर प्रमुखले बोल्न नदिने भन्ने कुरै छैन, लोकतन्त्रमा बोल्न पाउने अधिकार र सुनिश्चितता गरिएको छ ।’

लोकतन्त्रको परिभाषालाई केलाउँदा प्रबल रूपमा अघि आउने एउटा शब्द स्वतन्त्रता भएको बताउँदै स्वतन्त्रता विना लोकतन्त्र नरहने तर बोल्दै जाँदा आधारहिन कुरा बोल्ने छुट भने कसैलाई नभएको उनको भनाई थियो । भने ‘त्यसैले पत्रकारलाई जबाफदेहिता सहितको पत्रकारिता गर्न आग्रह गर्दछु ।’

मेयर साम्पाङले छापेको समाचारको तथ्य र सत्यता हुनु पर्ने बताउँदै धरान उपमहानगरपालिकामा घुस नदिई काम गर्दैन भनिएको कुरा पुष्टि नभएको उल्लेख गरे । भने ‘पुष्टि भएमा तत्काल कर्मचारीलाई कारबाही गरिने छ ।’

पत्रकार महासङ्घका पूर्व सभापति केशव घिमिरेको भनाई उद्धृत गर्दै उनले भने ‘घुसको कुरा आएपछि उपमहानगरपालिकामा घुस खानु भनेको आफूले खानु जस्तै रहेको हुँदा, चुप लागेर बस्यो भने यसले पनि खायो भन्ने पब्लिकलाई लाग्ने भएकाले त्यस बारेमा सोधखोज गर्नु परेको हो ।’

मेयर साम्पाङले आफू नगरपालिकाको प्रमुख मात्र नभएर व्यक्ति भएको र आफ्नो पनि मन, व्यक्तिगत स्वतन्त्रता भएको पनि बताए । आफू सुशासन र भ्रष्ट्राचार गर्नु हुँदैन आफ्नो एउटा सङ्गठन, गतिलो व्यक्ति र साथी पाटी साथमा नभएको भन्दै १० वर्ष एक्लै कुदेर आएको आफूले पब्लिकको मन जितेर भ्रष्ट्राचार विरुद्ध लाग्छ भनेर जनताले भोट दिएको उनको भनाई थियो ।

सत्य तथ्यमा आधारित पत्रकारिता गर्दै धरानको हकमा जनतालाई सुसूचित गर्न आग्रह गर्दै पत्रकार र आफू बिच तिक्तता नल्याउन आग्रह गरे। धरानमा भएका विकासका कार्य र गलत कार्य औँल्याउने कुरामा कलम अगाडी बढाउन उनको आग्रह थियो । पत्रकार महासङ्घसँग हुने सहमतिको सन्दर्भमा उनले भने ‘सबै मिलेर अगाडी बढौँ ।’