धरान : धरानबाट प्रकाशित ‘दिव्य रोशनी’ साप्ताहिक पत्रिकाले ३ जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ। एक महिला उद्यमी सम्मानित भएकी छन् । लेख रचनाका लेखकहरूलाई कदरपत्र प्रदान गरेको छ । आज आयोजित पत्रिकाको १९औ वार्षिकोत्सव कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उनीहरूलाई पुरस्कार, सम्मानपत्र र कदरपत्र प्रदान गरेका हुन ।

प्रकाशक/सम्पादक मनिता चाम्लिङका बुबा क्विन गोर्खा ईन्जियिरिङ्ग सार्जन्ट स्व.प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको उत्कृष्ट सामाजिक पत्रकारिता सम्मानद्वारा भैरव आङला र बिनादेवी तामाङ ५ हजार ५ सय ५ रुपैयाँ नगद सहित पुरस्कृत भएका छन् । 'श्रव्य दृश्य' अनलाइनका नवराज विष्टलाई मनिताका कान्छा दाजु वाजुन राईको स्मृतिमा स्थापित ५ हजार ५ सय ५ रुपैयाँ राशिको सृजनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।

महिला उद्यमी, समाजसेवी अभिन्नदनपत्रबाट हेन्डीक्राफट प्रशिक्षक पूर्ण कुमारी श्रेष्ठलाई सम्मानित गरिएको छ। पत्रिकामा प्रकाशित लेख रचनाका लेखक नितेश श्रेष्ठ र रोशन श्रेष्ठलाई नगद सहित कदरपत्र प्रदान गरिएको छ।

उक्त अवसरका प्रमुख अतिथि मेयर हर्क साम्पाङ प्रेस स्वतन्त्रताप्रति आफू सदैव प्रतिबद्ध रहेको बताउँदै बिचमा उत्पन्न असमझदारीका विषयमा पत्रकार महासङ्घ समन्वय गरी सहमतिको विन्दुमा पुगेको उल्लेख गरे ।

उनले पत्रकारहरूले ‘मेयरले लेख्न, बोल्न दिएन’ भनेर विरोध गर्नु गलत भएको बताउँदै भने ‘मैले कसलाई लेख्न बोल्न दिएको छैन, कसैलाई रोकेको छुइन ।’ तर आधारहीन कुरा बोल्नु हुन्न, पुष्टि हुनसक्ने कुरा मात्र बोल्नु पर्छ भन्ने मात्र आफ्नो भनाई भएको बताए ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले छापा प्रकाशन खर्चिलो, धेरै जनशक्तिको आवश्यकता पर्ने भएकाले प्रकाशनलाई अनलाईनकरण गर्दे पत्रिकाको मेहनत जस्तै अनलाइनलाई स्थानियत्वकरण प्रदान गर्न दिव्य रोशनीलाई सुझाव दिए ।

उनले पछिल्लो समय प्रिन्ट मिडियाको भन्दा अनलाइन मिडियामा प्रतिस्पर्धा बढेकाले प्रस्तुतीकरण, रिपोटिङमा अनलाइनको गुणस्तर प्रभावकारी हुने भन्दै अबको युग डिजिटलाईजको युग भएकोले मिडिया हाउसहरू त्यसैमा जानुपर्नेमा जोड दिए ।

इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले नारीले व्यवस्थापन गरेको संस्था पारदर्शी र जबाफदेही हुने बताउँदै सूचना सम्प्रेषणको माध्यमले समाजमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले संवेदनशील हुन सुझाव दिए ।

महिला सञ्जाल अध्यक्ष सपना राईले १९ औ वर्षसम्म पत्रिकालाई निरन्तरता दिने काम जटिल भएको उल्लेख गर्दै धन भन्दा मन भएमा समाजमा कार्य गर्ने ऊर्जा चाहिने बताए ।

कार्यक्रममा कार्यपालिका सदस्य सिर्जना नेपाल, पत्रकार महासङ्घ सुनसरी कार्यसमिति सदस्य शान्ता निरौला, महिला सञ्जालका पदाधिकारीहरू, शुभेच्छुकहरू, पत्रकारहरूको उपस्थिति थियो । दिव्य रोशनीकी प्रकाशक/सम्पादक मनिता चाम्लिङको सभापतित्वमा भएको कार्यक्रम पत्रकार गोपाल कामत र सागर सिञ्जालीले सञ्चालन गरेका थिए । 

divya-roshani-samman