विराटनगर : यस वर्षको शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपाल मोरङले हरेक वर्ष प्रदान गर्दै आएको कोशी प्रदेशस्तरीय सो पुरस्कार बिहीबार विराटनगरमा आयोजित विशेष कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

चौतारीको वार्षिक साधारण सभाको अवसर पारेर पत्रकार अधिकारीलाई सम्मान गरिएको प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोइरालाले जानकारी दिए ।

उनलाई प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष गणेश पाण्डे, प्रतिनिधिसभा सदस्य तथा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल लगायतले सम्मानपत्र, दोसल्ला सहित नगद २१ हजारबाट सम्मान गरेका थिए ।

करिब तीन दशक पत्रकारिता पेसामा संलग्न सम्मानित अधिकारी कान्तिपुर दैनिकका उप–सम्पादकको रूपमा कार्यरत छन् । उनले प्रेस चौतारी नेपालका दुई कार्यकाल केन्द्रीय समितिमा जिम्मेवारी निभाएका थिए ।

अधिकारीले श्रमजीवी पत्रकारको रूपमा निरन्तरता दिएको कारण आफू सम्मानित हुन पाएको भन्दै पेशागत मर्यादा र आवाज विहीनका आवाजको भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

वि.सं.२०७७ सालदेखि सुरु गरिएको पुरस्कार पहिलो वर्ष मोरङका अग्रज पत्रकार यज्ञ शर्मा र अघिल्लो वर्ष सुनसरीका पत्रकार लिलाराज भट्टराईलाई प्रदान गरिएको थियो ।

प्रेस चौतारी नेपाल मोरङको वार्षिक साधारण सभा आठ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।