इटहरी : पूर्व जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिको विस्तारित बैठक शनिवार इटहरीमा सम्पन्न भएको छ । बैठकबाट उनीहरूले सम्पूर्ण पूर्व जनमुक्ति सेनाहरू एक हौँ भन्ने नारा सहित विभिन्न साँगठानिक निर्णय गरेका छन् ।
बैठकले विभिन्न ६ बुँदे निर्णय समेत गरेको छ । पूर्व जनमुक्ति सेनालाई उत्पादनसँग जोड्ने भन्दै दुष्यान्त भट्टराईको संयोजकत्वमा उत्पादन समन्वय समिति निर्माण गरिएको छ । संयोजक भट्टराईले पूर्व जनमुक्ति सेनालाई कृषि उत्पादनसँग सहभागी गराउन आफू नेतृत्व लिन तयार रहेको बताए ।
त्यस्तै पूर्व जनमुक्ति सेनाको प्रदेशस्तरीय ट्रस्ट निर्माण गर्न प्रकाश राई (गौरव)को संयोजकत्वमा ५ सदस्यीय समिति पनि निर्माण गरिएको पूर्व जनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिका अध्यक्ष राजेश राई (विमल)ले जानकारी दिए । उनले शनिवार नै एक विज्ञप्ति जारी प्रदेश सचिवमा प्रदीप श्रेष्ठ (सौगात) लाई नियुक्त गरिएको जनाएका छन् ।
पूर्व जनमुक्ति सेनाको जायज माग र मुद्धाहरुलाई प्रदेश स्तरबाट तय गरी केन्द्रीय समितिलाई सुझावको रूपमा प्रस्तुत गर्न देवी गौतम (सन्तोष) को संयोजकत्वमा तीन सदस्यीय कार्यदल निर्माण गरिएको छ ।
अध्यक्ष राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘गत माघ ११ गते नेपाल सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णयहरू गणतन्त्र प्राप्तिको निम्ति योगदान पुर्याएका पूर्व जनमुक्ति सेनाका योद्धाहरूलाई गणतान्त्रिक सेनानीको रूपमा राष्ट्रिय सम्मानसहितको परिचय पत्र दिने र बाँकी जायज मागहरू पूरा गर्न अधिकार सम्पन्न कार्यदल बनाउने भन्ने निर्णयको स्वागत गर्दै कार्यदलमा थप पूर्व जनमुक्ति सेनाको तर्फबाट समेत सहभागी गराउन जोडदार माग गर्ने निर्णय गरियो ।’
तर, विस्तारित बैठकमा प्रमुख अतिथिको रूपमा आएका पूर्व जनमुक्ति सेनाका कमान्डर सविनले केपी ओलीसँग केही आशा गर्न नसकिने बताए । उनले भने-‘केपी ओलीसँग आशा पनि छैन, गुनासो पनि छैन आफ्नो अभिभावकत्व आफैँले लिनु पर्छ ।’
सरकारले यस्तो निर्णय गरेपछि विभिन्न ठाउँमा बसोबास गरिरहेका पूर्व जनमुक्ति सेनाहरूले साँगठानिक गतिविधि बढाउन थालेका छन् ।



































































