धरान : धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बाल रोग विशेषज्ञ डा. अरुण कुमार सिंहद्वारा लिखित ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक आज सार्वजनिक गरिएको छ ।
पत्रकार देवेन्द्र कार्कीले सम्पादन गरेको पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि बीपी प्रतिष्ठानका उपकुलपति प्रा।डा ज्ञानेन्द्र गिरी, भाषाविद् प्रा.डा. टङ्क न्यौपाने, प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशङ्कर साह, प्रतिष्ठानका नसिंङ विभागका प्रमुख प्राध्यापक उपेन्द्र यादव, लेखक डा. सिंह, सम्पादक देवेन्द्र कार्कीले संयुक्त रूपमा औपचारिक रूपमा विमोचन गरेका थिए । पुस्तकमा बालबालिकामा लाग्ने रोगहरू, उपचारबारे पूर्ण जानकारी दिएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य स्वयंसेबिकाहरुले पनि पढ्न र अरूलाई बुझाउन सकुन् भन्ने उद्देश्यले सरल भाषामा प्रस्तुत गरिएको लेखक डा. सिंहले जानकारी दिए ।
औषधि र डाक्टरको अनुहार देख्न नपाएर मृत्युवरण गर्न बाध्य प्रदेश १ का दुर्गमवासीहरुमा उक्त पुस्तक समर्पित भएको बताइएको छ । ‘चिकित्सक सेवा नपुगेका दुर्गम क्षेत्रका बालबालिका लाई रोगबारे जानकारी दिने, कुन बेला अस्पताल लाने, बालबालिकाहरूलाई स्वास्थ्य सचेतना बारे विभिन्न रोगहरूको विषयलाई समेटिएको छ ।’–लेखक सिंहले भने –प्रतिष्ठानमा म केही बिमारीको उपचार गर्छु तर यो पुस्तकको माध्यमबाट हजारौँलाई सहयोग पुग्ने छ भन्ने अपेक्षा छ ।’
प्रमुख अतिथि प्रा.डा ज्ञानेन्द्र गिरीले यस पुस्तकले स्वास्थ्यका विभिन्न आयामलाई सरल , सहज र सरस ढङ्गले आम मानिसमा बुझाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पुस्तकमा नवजात शिशुको हेरविचार देखि राष्ट्रिय खोप तालिका, बच्चाहरूको उचित ख्याल, विभिन्न रोगहरूको विषयमा घरमै बसेर पनि गर्न सकिने उपचार विधिबारे जानकारी दिइएको छ । पुस्तकमा स्वास्थ्य सम्बन्धी जनहितका सन्देश, प्राकृतिक विपत्तिबाट बच्ने सन्देशहरू समेत समेटिएको पुस्तकका सम्पादक देवेन्द्र कार्कीले जानकारी दिए ।
आमचोक सरोकार समाज सुनसरीले प्रकाशन गरेको पुस्तक बिक्रीबाट आएको रकमले बिपी प्रतिष्ठानमा उपचारका लागि आउने दुर्गम क्षेत्रका विपन्न परिवारका बालबालिकाहरूको उपचारमा खर्च गर्ने गरी संस्थामा ५० हजारको कोष समेत बनाइएको कार्यक्रममा संस्थाका सचिवसमेत रहेका कार्कीले जानकारी दिए ।
कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक गोपीकृष्ण खतिवडाले पुस्तकको उपयोगिताबारे प्रकाश पार्दे प्रतिष्ठानबाट प्रसूति सेवा लिएर जाने हरेक आमाहरूलाई यो पुस्तक कोसेलीको रूपमा वितरण गर्न सुझाएका थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्ले, अस्पताल निर्देशक प्रा.डा. साह लगायतले शुभकामना मन्तव्य दिएका थिए । किस्तीका चौधरीले डिजाइन गरेको पुस्तक प्रकाशनमा लक्ष्मी बानियाँले व्यवस्थापन गरेका छन् ।


































































