धरानः वडाबासीहरुको घरको धारामा पिउने पानी नआएको भन्दै धरानको वडा नं ९ का वडाअध्यक्षको नेतृत्वमा जनप्रतिनिधिहरुले खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयमा धर्ना दिएका छन् ।
आज बिहिबारदेखि वडा ९ का अध्यक्ष रत्न कटवालको नेतृत्वमा वडाका पाँचै जना जनप्रतिनिधिहरु संस्थानमा धर्ना बसेका हुन् । उनीहरुले संस्थानको शाखा कार्यालयको मुल गेटमा नै तालाबन्दी गरेर आज बिहिबार बिहान १० बजेदेखि एक घण्टा धर्ना बसेका थिए । उनीहरुले पानी सहजरुपमा धारामा नआएसम्म धर्ना कार्यक्रम हरेक दिन समय बढाउदै लैजाने बताएका छन् । यसअघि सोमबार(पुष २८)मा पनि वडाबासीहरुले खाली गाग्री, गिलेनलगायत सामाग्रीसहित वृहत र्याली निकालेर संस्थान घेराउ गरेका थिए । त्यसक्रममा संस्थान कार्यालय केहीबेर तनावग्रस्त पनि भएको थियो ।

वडाअध्यक्ष कटवालले निरन्तर पानीको माग गर्दा पनि सुनुवाई नभएपछि आन्दोलन अन्तर्गत नै आफुहरु संस्थानमा धर्ना बस्न बाध्य भएको बताए । उनले हरेक दिन एक घण्टा धर्ना समय बढाउदै लैजाने बतए । 'अझै पनि वडाबासीको घरमा धारामा पानी आएन भने फेरि जनतासहित आएर घेराउ गछौं, यस्तो अवस्था आउन संस्थानले नदियोस् भन्ने आग्रह छ,'अध्यक्ष कटवालले भने,'अहिले पुष माघमा नै पानी हाहाकार हुने समय होइन, तर किन भइरहेको छ ?'
वडाअध्यक्ष कटवालले संस्थानको कर्मचारीको घर भएको क्षेत्रमा अनुगमन गर्दा पानी प्रशस्त पुग्ने गरेको पनि बताए । संस्थानका कर्मचारीहरुले मिलेमतोमा कमिशन र कालोबजारीको खेलले जनताले पिउने पानी नपाएको आरोप लगाए । 'हामी पानी देउ भनेर संयम तरिकाले धर्नामा छौं, कडारुपमा प्रस्तुत हुन बाध्य नपारियोस् । पिउने पानी संस्थानले दिनुपर्छ,'उनले भने । संस्थानका कर्मचारीहरुले निजी ट्यांकर र पानी उद्योगसँग कमिशनको मिलेमतोले कृत्रिम अभाव सृर्जना गरेको आरोप लाग्दै आएको छ ।



































































