धरान: डेंगु प्रकोपको मौका छोपेर धरानमा परीक्षणको क्रममा प्रयोग हुने टेष्ट किटको वास्तविक मुल्यभन्दा बढी लिने क्लिनिक, ल्याबका सञ्चालकहरुलाई कारबाही गर्ने धरान उपमहानगरपालिकाले चेतावनी दिएको छ ।
उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार पोखरेलले आज एक विज्ञप्ती जारी गर्दै डेंगु रोग परीक्षण गर्दा टेष्ट किटको मुल्य बढी लिएको प्रमाणित भए प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी दिएका हुन् । साथै, सुपथ मुल्यमा नै टेष्ट किट उपलब्ध गराउन पनि विज्ञप्तीमा सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइएको छ ।

यसअघि, स्वास्थ्य मन्त्रालयले पनि विज्ञप्ती मार्फत टेष्ट किटको मुल्य ४ सय पर्ने जानकारी दिएको थियो । तर, धरानमा टेष्ट किटमार्फत डेंगु परीक्षण गर्दा न्युनतम १२ सयदेखि २५ सय रुपैयासम्म निजी क्लिनिक तथा ल्याबहरुले असुल गरिरहेका छन् । यसबारेमा संघीय स्वास्थ्य मन्त्रालयमा पनि गुनासो पुगेपछि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कारबाही हुने चेतावनी दिएको थियो । आइतबार साँझ धरान आएका स्वास्थ्य राज्यमन्त्री डा.सरोजकुमार यादवले पनि सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रदेश स्वास्थ्य निर्देशकलाई टेष्ट किटको बढी मुल्य लिएर डेंगु परीक्षण गर्नेहरुलाई कारबाही गर्न निर्देशन दिएका थिए ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































