धरान: गुठीको नाममा रहेको मन्दिरको जग्गा किर्ते गरेर नक्कली व्यक्तिको नाममा दर्ता गराउन सिफारिश गरेको विवादमा मुछिएका धरान उपमहानगरपालिकाको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरी(गिरी कान्छा)विरुद्ध पनि जिल्ला अदालत सुनसरीमा अभियोग दर्ता भएको छ ।
लामो अनुसन्धान पछि इलाका प्रहरी कार्यालय पकलीले वडा अध्यक्ष गिरी, मालपोतका अधिकृतसहित ९ जनाविरुद्ध प्रतिवादी बनाउन रायसहित सरकारी वकिल कार्यालयमा मिसिल पठाएको थियो । सो मिसिल अध्ययन पछि आजै सरकारी वकिलले जिल्ला अदालतमा उनीहरुविरुद्ध अभियोग दर्ता गराएको हो । वडाअध्यक्ष गिरीसहित ९ जनाविरुद्ध अभियोग दर्ता गरेकोबारे सरकारी वकिल गोकुल निरौलाले पुष्टि गरे । कपुरीकर्मीसँग कुरा गर्दै उनले भने,‘जिल्ला अदालतमा किर्ते र ठगी अभियोग दर्ता भएको छ । धरानको वडा अध्यक्ष, मालपोतको अधिकृतसहित २ जना गरेर जम्मा ९ जना छन् ।’

सरकारी वकिल निरौलाका अनुसार वडाअध्यक्ष गिरी र मालपोतका २ कर्मचारीविरुद्ध किर्ते र ठगीको मतियार भएको अभियोग दर्ता गरिएको छ । ‘नागरिकता नै नक्कली छ, त्यो सक्कल हो होइन भनेर वडाअध्यक्षले ख्यालै नगरी कसरी सिफारिश गर्यो ? जुन नागरिकता नम्बर हो, त्यो अर्के महिलाको नागरिकता छ,’सरकारी वकिल निरौलाले भने ।
सुनसरीको रामधुनी नगरपालिको ६ मा मन्दिरको नाममा भएको २२ कट्ठा १० धुर जग्गा व्यक्तिको नाममा पार्न नक्कली जग्गाधनी खडा गरिएको थियो । यो किर्ते काममा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक विजय दाहालका अनुसार धरान १६ कै सोमबहादुर परियार, किसोर मगर, मानबहादुर परियार र इटहरी २० का वकिल भन्ने अर्जुन चौधरीलाई पक्राउ गरिएको थियो । यो गिरोहले चन्द्रशेखर महादेव गुठीको नामको जग्गा व्यक्तिको नाममा नामसारी गराउन चन्द्रशेखर महादेव(परियार) नामको नक्कली व्यक्ति र नक्कली नागरिकता निकालेको थियो ।

प्रहरीका अनुसार गिरोहले मानबहादुर परियारलाई चन्द्रशेखर महादेव(परियार) बनाएर नक्कली नागरिकता निकालेको थियो । नक्कली नागरिकता निकालेपछि वडा नं १६ मा जग्गाधनी पुर्जामा फोटो टाँस गर्न बाँकी रहेकोले सिफारिश गर्न निवेदन दिएको थियो । साथै, नागरिकतामा चन्द्रशेखर महादेव(परियार) भएको तर धनिपुर्जामा चन्द्रशेखर महादेव मात्र उल्लेख भएकोले दुवै नामथर भएको व्यक्ति एकै भएको सिफारिशको पनि माग गरेको थियो । यो गिरोहको माग वमोजिम वडाअध्यक्ष गिरीले मंसिर २७ गते सिफारिश गरिदिएका थिए ।
यो गिरोहले इटहरी तरहरा घर भएको नन्दबहादुर विश्वकर्मालाई उक्त जग्गा बिक्री गर्न १२ लाख रुपैयामा बैनासमेत गरिसकेको थियो । तर, नामसारी गराउने बेला मालपोतमा किर्ते गरेको उनले चाल पाएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । यो घटनामा अनुसन्धान गर्दे पकली प्रहरीले वडाअध्यक्ष, मालपोत अधिकृतसमेतको संलग्तना देखिएकोले कारबाहीको दायरमा ल्यानुपर्ने राय दिएपछि आज सरकारी वकिलले अभियोगपत्र दायर गरेको हो ।
बदर सिफारिश गर्दा मलाई उल्टै वदनाम गरियो: आयार्च
मन्दिरको जग्ग्गा किर्ते गरेको बिषयमा आज केही पत्रपत्रिकाले समाचार प्रकाशन गरेको थियो । तर, उक्त समाचारमा कार्यवाहक वडाअध्यक्ष दिपक आचार्यले सिफारिश गरिदिएको भन्ने उल्लेख गरेको थियो । तर, त्यो वास्तविकता थिएन ।
तत्कालिन कार्यवाहक अध्यक्षको हैसियतमा वडा सदस्य आचार्यले यसअघि वडाअध्यक्षले दिएको सिफारिश अनुसार जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि जारी नभएको भए रोक्का गरिदिन र जारी भए वदर गरिदिन भन्दै मापोत कार्यालयमा सिफारिश गरेका थिए । उनले माघ १५ गते मालपोत कार्यालयमा सिफारिश गरेका थिए । ‘अध्यक्ष ज्युले सिफारिश गर्नुभएको थियो, त्यसमा समस्या भएको थाह पाउनुभएर पछि म कार्यवाहक हुँदा त्यो वदर गराउनुपर्छ भनेर उहाँले नै वदरको सिफारिश गर्न भनेपछि मैले सिफारिश गरिदिएको हो,’वडा सदस्य आचार्यले भने,‘उल्टै मैले पो किर्तेको सिफारिश गरिदिए भनेर समाचार आयो, मेरो वदनाम गरियो ।’
वडा सदस्य आचार्यका अनुसार आफुले वदरको सिफारिश गर्दा किर्तेमा संलग्न ४ जना पक्राउ नै परेका थिएनन् । गलत मनसाय लिएर सिफारिश लिएको थाह पाएलगत्तै वडाबाट वदरको सिफारिश गरिएको उनको दाबी थियो । उता, किर्ते र ठगीको मतियारमा अभियोग लागेका वडाअध्यक्ष दिलकुमार गिरीले पनि नागरिकता, कागजपत्रहरु लिएर आएकोले आफुले सिफारिश गरिदिएको स्वीकार गरे । ‘सबै कागजात मिलाएर आएको थियो, आफ्नै वडाको चिनेको मान्छे थियो, त्यसैले केही नहोला भनेर सिफारिश दिए,’अध्यक्ष गिरीले भने,‘पछि गलत नियत थाह पाउनुबित्तिकै कार्यवाहक अध्यक्षलाई वदरको सिफारिश गर्न लगाएको थिए ।’


































































