झापा: झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले इलामका पत्रकारहरुलाई फोन गरेर धम्कि दिएका छन् । इलामका पत्रकारहरुलाई फोन गरेर ‘जे गछौँ गर, तिमीहरुले गर्दा हाम्रो केही बिग्रिँदैन’ भन्दै धम्की दिएका हुन् ।
चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर १६औँ पटकको सत्याग्रहका क्रममा इलाममा अनसनरत डा गोविन्द केसीको पक्षमा समाचार लेखेको भन्दै प्रसाईले पत्रकारलाई धम्कि दिएको इलाममा कार्यरत पत्रकारहरुको भनाई रहेको छ । बीएण्डसीले विजय थापा नामका ब्यक्तिलाई विभिन्न माग राख्दै अनसन बस्न लगाएपनि इलामका पत्रकारले डा केसीले उठाएका जनपक्षीय सरोकारका विषयलाई महत्व दिएका छन् । आफुले अनशन बसाएको ब्यक्तिका वारेमा समाचार नलेखेको भन्दै प्रसाईले धम्कि दिएको इलाममा कार्यरत पत्रकारको भनाई रहेको छ ।
नेपाल पत्रकार महासंघ इलाम शाखाले एक विज्ञप्ति जारी गरि समाचारमा चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै समाचारको विषयमा पत्रकारहरुलाई अपशब्दसमेत प्रयोग गरी गाली, गलौज, धम्की दिने ब्यक्तिलाई तत्काल कारबाही हुनुपर्ने माग राखेको छ । शाखा अध्यक्ष कोकिला ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा पत्रकारलाई स्वतन्त्र रुपले समाचार संप्रेषणको वातावरण बनाउन पनि आग्रह गरिएको छ ।


































































