प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिना लोकतन्त्रको कल्पना गर्न सकिन्न । स्वतन्त्र प्रेस, प्रकाशन, प्रसारण स्वतन्त्रता नै लोकतन्त्रको पर्याय हो । आज गणतन्त्र दिवसको मर्म पनि त्यसैमा अन्तर्निहित छ । आजकै दिन ‘कपुरी न्यूज’को छैटौँ वार्षिकोत्सव एवम् सातौँ वर्षमा प्रवेश गरेको सुखद संयोगमा सबैलाई शुभकामना व्यक्त गर्दछौँ ।

पछिल्लो समय नेपालमा प्रविधिले ल्याएको सञ्चार क्रान्तिले निरक्षरलाई पनि मिडियाको पहुँचमा पुर्‍याएको छ । मिडियाको रूपमा युट्युबको प्रयोगले सूचना र समाचारको ठुलै बाढी ल्याएको छ ।

स्वाभाविक रूपमा बाढीले ल्याउने भेल धरातलमा रसाएर आएको स्वच्छ बग्ने पानी जस्तो हुन्न । तर बाढीको भेल अन्ततःखोला, नदी हुँदै सागर महासागरमा नै मिसिन्छ । सूचना र समाचारको बहाव पनि त्यस्तै बनेको छ ।

मिडियामा प्रविधिले ल्याएको परिवर्तनबाट नयाँ स्थिति पैदा हुनु अस्वाभाविक होइन । यो स्थितिले पत्रकारिताको परिभाषा पनि बदलिने हो कि भन्ने बहस समेत सुरु भएको छ । नेपालमा एफएमको व्यापकता बढ्दै गएपछि रेडियो नेपाललाई रेडियो र अन्य रेडियो सेवालाई 'एफएम' भनेर बुझाई बनेको थियो ।

हिजोआज आम सर्वसाधारणले ‘मिडिया’ भनेको युट्युब र अनलाइन समाचार भन्ने बुझाई बनाउन थालेको पाइन्छ । यसबाट समाचारपत्र, पत्रिका, रेडियो, टेलिभिजनको सञ्चार उपभोक्ता घटेको मात्र होइन नयाँ बुझाई बन्न थालेको अर्थमा लिइन् सकिन्छ ।

यो बदलिँदो परिभाषाको प्रारम्भिक सङ्केत मात्र हो । सामाजिक सञ्जालको बढ्दो प्रयोग र सर्वसाधारणमा बढेको सञ्चार साक्षरता पत्रकारिताका लागि नयाँ चुनौती बनेको छ । कुनै समय रेडियोले दिने ब्रेकिङ न्युज, अनलाइन न्यूज पोर्टलले उछिन्न थालेको थियो । अहिले सामाजिक सञ्जाल त्यो भन्दा अघि आएको छ ।

तर सञ्चार उपभोक्तालाई विश्वसनीयता, पूर्ण सुसूचित गराउने सूचना र समाचारको भने सङ्कट बढेको छ । युट्युब अनलाइन, टिकटक लगायतका स्वतन्त्र प्रसारणलाई 'फेक न्युज’', गालीगलौज, चरित्रहत्या, अफवाह फैल्याउने माध्यमको रूपमा दुरुपयोग बढेकोले ‘तथ्य’ सङ्कटमा परेको हो ।

पछिल्लो समय सञ्चार प्रविधिमा आएको 'आर्टिफिसियल इन्टलिजेन्स' एआईले मिडियालाई नै भ्रमको दुनियाँमा लैजाने सम्भावना बढेको छ । त्यसले हाम्रो राजनीति, समाज र संस्कृतिलाई कति दुरागामी जोखिममा पार्ने हो हेर्न बाँकी छ ।

यो अनलाइन डिजिटल मिडियाले तथ्यमा आधारित सूचना र समाचारको लागि गरिने पत्रकारितालाई दिएको चुनौती हो भन्दा अतिशयोक्ति नहोला । नेपाली पत्रकारिता र अनलाइन मिडिया सामुन्ने आएको यो चुनौती प्रतिस्पर्धाको नयाँ आयाम सुरु भएको छ ।

‘कपुरी न्यूज’ छैटौँ वार्षिकोत्सवसँगै त्यही चक्रव्यूहमा प्रवेश गरेको छ । मिडियाको महाभारत प्रतिस्पर्धामा हाम्रो पहिलो प्राथमिकता अभिव्यक्ति तथा वाक स्वतन्त्रता, विचार र प्रकाशन स्वतन्त्रता, सुसूचित हुने अधिकारको रक्षा हो ।

अधिकार र स्वतन्त्रताको अधिकतम प्रयोगका लागि भइरहेको प्रविधिको उपयोग गणतन्त्रको उदाहरणीय पक्ष बनाउने हाम्रो प्रतिबद्धता छ । प्रविधिको अधिकतम प्रयोगले सञ्चार उपभोक्ताको रुचिमा ठुलो बदलाव ल्याए पनि सुरुचि समाप्त हुँदैन ।

नेपालको मात्र नभएर संसारकै सही सूचना र समाचारमा चासो राख्ने, सुरुचिपूर्ण सामाग्रीको खोजी गर्ने पाठक, सञ्चार उपभोक्ताको संसार प्रिन्ट मिडियाले निर्माण गरेको हो । यो पठन संस्कृतिसँग अन्योन्याश्रित छ । संसार अक्षर र शब्द विहीन हुन सक्दैन ।

पछिल्लो समय डिजिटल मिडियाले प्रिन्ट मिडियाको जमानालाई अन्त्य गर्‍यो भन्न थालिएको छ । तर  मानिसको पढेर सूचना ग्रहण गर्ने प्रवृत्ति समाप्त भैसकेको छैन । समाप्तै हुन्छ भन्ने प्रत्याभूति कसैले दिन सक्तैन ।

प्रिन्ट मिडियाले निर्माण गरेको, पुस्तकका अक्षर, शब्द पढेर शिक्षित बनेको नागरिक समाज अहिले पनि सञ्चार उपभोक्ता बजारमा सक्रिय छ । उनीहरूले हिजो बिहानै अखबार पढेर जुन विश्वसनीय, सुरुचिपूर्ण सामाग्री प्राप्त गर्दथेँ, त्यही कुरा उनीहरूले आज पनि मोबाइलमा खोजिरहेका छन् ।

फरक यत्ति हो अनलाइन न्युजहरूमा उनीहरूले त्यो चिज पाइरहेका छन् छैनन् ? भन्ने चासो अनलाइन माध्यमहरूले दिइरहेका छैनन् । ‘कपुरी न्यूज’ले निरन्तर पाठकहरूको त्यही तथ्यपूर्ण, विश्वसनीय सूचना र समाचारको खोजीलाई मोबाइलमा, ल्यापटप, कम्प्युटरको मनिटरमा पढाउन प्रयास गर्दै आएको छ र छैटौँ वार्षिकोत्सव एवम् सातौँ वर्षमा प्रवेश गरेको अवसरमा त्यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दछौँ ।