इटहरी : उद्योगमा विद्युत आपूर्ति बन्द गरिएको प्रति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आपत्ति जनाएका छन् । उद्योग बन्द भई अर्थतन्त्र र स्थानीय रोजगारीमा समेत असर परेको भन्दै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच डेडिकेटेड फिडर र ट्रंकलाइनका सम्बन्धी विवाद समाधान गर्न उनले आग्रह गरेका छन् । लामो समयदेखिको असमझदारी र विद्युत महसुल बक्यौता विवाद रहेकाले वार्ता र संवाद मार्फत अगाडि बढ्नुपर्ने उनको सुझाव छ ।
यहीँ बिचमा अर्थतन्त्रमा उल्लेख्य योगदान गरी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बन्द हुने अवस्था आउनु अस्वाभाविक भएको कार्कीले टिप्पणी गरे । विज्ञप्ति मार्फत उनले भने, "हाल देखा परेका विवाद र समस्याको वार्ता र संवादका माध्यमबाट समाधान खोज्न सम्बन्धित पक्षहरूलाई आग्रह गर्दछु । उद्योगीहरूसँग यथाशीघ्र वार्ता गरी सहज ढङ्गले उद्योग सञ्चालनको वातावरण निर्माण गर्न नेपाल सरकारले पहलकदमी लिनुपर्दछ । एउटा उद्योगको विद्युत आपूर्ति बन्द गर्दा पर्न सक्ने बहुआयामिक असरलाई मध्यनजर गरी उपयुक्त निकास निकाल्नु पर्दछ ।"
सरकार र राज्यप्रति निजी क्षेत्रको विश्वसनीयता अभिवृद्धि गरी खस्कँदो अर्थतन्त्रलाई लयमा फर्काउन उनले ध्यानाकर्षण गराए । नेपाल सरकार र निजी क्षेत्र बिच वार्ता र संवादको वातावरण निर्माण गराउन प्रतिबद्ध रहेको स्पष्ट पारे ।

 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        