इटहरी : इटहरी उपमहानगरपालिकाका प्रेस संयोजक धनबहादुर पुरीले आइतबार राजीनामा दिएका छन् ।
जेनजी आन्दोलनपछि उपमहानगरपालिकामा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष राजीनामा बुझाएका हुन् ।आन्दोलनपछि उपमहानगरपालिका ध्वस्त भएको र धेरै आर्थिक भार बेहोर्नुपर्ने अवस्था आइपरेको भन्दै उनले राजीनामा बुझाएका छन् । उपमहानगरपालिकालाई थोरै भए पनि आर्थिक भारबाट बचाउन राजीनामा दिएको उनको भनाइ छ ।
इटहरी उपमहानगरपालिकाको मेयरमा हेमकर्ण पौडेल निर्वाचित भएपछि पुरीलाई प्रेस संयोजकको रूपमा नियुक्त गरिएको थियो । २०७९ असोज ३१ गतेदेखि लागु हुनेगरी नियुक्त भएका पुरीले ३ वर्ष पुरा गरेका छन् । मेयर पौडेलको सचिवालयमा रहेर काम गरेका उनले इटहरी उपमहानगरपालिकाको गतिविधिको प्रचार तथा पत्रकारसँगको समन्वयमा काम गरेका थिए ।
ब्लास्ट टाइम्स दैनिकमा काम गरेका पुरी प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष समेत हुन् । नेपाली काँग्रेसका नेता समेत रहेका उनले आगामी दिनमा व्यवसायसँगै राजनीतिमा सक्रिय हुने बताएका छन् ।


































































