लोकतन्त्रको रक्षा र सङ्घीय गणतन्त्रको स्थायित्वका लागि भूमिका खेल्नु पर्ने पहिलो दायित्व मिडियाको हो । संयोगले आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र दिवस सँगै कपुरी न्यूज पाँचौँ वर्ष पुरागरी छैटौँ वर्षमा प्रवेश गरेको छ । 

पछिल्लो समय नेपालको सञ्चार क्षेत्रमा युगान्तकारी परिवर्तन आएको छ । प्रविधिले ल्याएको यो बदलावले तल्लो वर्गका आम मानिसलाई पनि मिडियाको पहुँचमा पुर्‍याएको छ । समाजका कुनै पनि कुरा मिडियामा आउनबाट रोक्न सकिने अवस्था अहिले छैन।

अभिव्यक्ति तथा वाक स्वतन्त्रता, विचार र प्रकाशन स्वतन्त्रता, सुसूचित हुने अधिकारका लागि नयाँ माध्यमहरू खुला मञ्च बनेका छन् भन्दा पनि हुन्छ । अधिकार र स्वतन्त्रताको अधिकतम प्रयोगका लागि भइरहेको सञ्चार माध्यमको उपयोग गणतन्त्रको उदाहरणीय पक्ष बनेका छन् । 

छापा माध्यम र टेलिभिजनको खर्चिलो मिडियाको विकल्पमा अनलाइन र युट्युब माध्यमले यो स्थिति सिर्जना गरेको हो । पछिल्लो समय बाढी नै आएको यस्तो माध्यमहरूका बिच कपुरी न्यूज पनि प्रतिस्पर्धामा छ । 

सञ्चार माध्यमको द्रुततर विकासमै आएको सामाजिक सञ्जालले मिडियालाई नयाँ चुनौती दिन थालेको छ । कुनै पनि मिडियालाई सामाजिक सञ्जालसँग नजोडिई धरै छैन । यस्तो लाग्छ संस्थागत मिडियाहरू अहिले सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गर्दैछन् ।

यसले सञ्चार माध्यम तथा मिडियाका प्रचलित मान्यतालाई नयाँ ढाँचामा परिभाषित गर्नुपर्ने बहस पनि सुरु गराएको छ । पत्रकारीताका परम्परागत शैलीमा पनि बदलिएको द्रुततर सञ्चार माध्यम सुहाउँदो प्रतिस्पर्धात्मक हुनुपर्ने आवश्यकता महसुस गरिँदै छ ।

यो सँगै पत्रकारीताका मूल सिद्धान्त, आचार संहिता, मूल्य मान्यता तथा मूलधारका नैतिक आधारहरू ध्वस्त भएमा देश, समाज र लोकतन्त्र जोखिममा पर्ने कुरा पनि प्रबल रूपमा उठेको छ । वैकल्पिक मिडियाका कन्टेन्ट सँग पत्रकारिताको मुख्य प्रतिस्पर्धा यसैमा केन्द्रित छ ।

अनलाइन मिडियाको महत्त्व यसै कारण पनि बढेर गएको हो । मुलुकमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र ल्याउन पत्रकारिता तथा मिडियाको निर्णायक योगदान छ । त्यसैले सङ्घीय गणतन्त्रको स्थायित्व, लोकतन्त्रको निरन्तरताका लागि जनतालाई सुसूचित गर्दै स्वस्थ जनमत सिर्जना गर्ने दायित्व मिडियाको हो ।

‘कपुरी’ अनलाइन यस कुरामा प्रतिबद्ध छ । पाँच वर्षको अवधिमा यसले हासिल गरेको लोकप्रियता अनलाइन मिडियाहरूको प्रतिस्पर्धामा उल्लेखनीय उपलब्धिका रूपमा हामीले लिएका छौँ । 

कपुरी सामाजिक सञ्चालसंग पनि जोडिएको छ, त्यसका सकारात्मक पक्षलाई उजागर गर्न र नकारात्मक पक्षलाई निरुत्साहित गर्न, हाम्रा मूल्य मान्यता मूलधारको पत्रकारिता तथा मिडियाका विश्वव्यापी सिद्धान्तप्रति प्रतिबद्ध छन् ।

कपुरीले मुलुकमा विद्यमान सामाजिक, धार्मिक, संस्कृति, भाषिक, जातीय सद्भावलाई सुदृढ बनाउने विषयहरूलाई प्राथमिकता दिदैं आएको छ । पहिचानको अधिकार, समानताको अधिकार र बाँच्न पाउने अधिकारका आवाज उठाउनेहरूका आवाजलाई सधैँ साथ दिएको छ ।

पार्टी विशेष, विचार विशेष, व्यक्ति विशेष भन्दा माथि उठेर निष्पक्ष, सूरुचिपूर्ण, निडर, कठोर र नरम समाचार कपुरी न्यूजको प्राथमिकतामा रहँदै आएको छ । यसको लोकप्रियता सफलतामा यी नै प्राथमिकताकले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

अनलाइन मिडिया र पत्रकारिताको प्रभावकारिता र लोकप्रियता अहिले मुलुकका लागि जरुरी छ । झट्ट हेर्दा अहिले रहरका अनलाइनको बाढी जस्तै देखिए पनि आचार संहिताको दायरामा रहेर सृजनशीलतालाई प्राथमिकता दिए गणतान्त्रिक लोकतन्त्रका लागि सदुपयोग हुनसक्छ ।   

कपुरी पत्रकार आचार संहिता, मिडिया आचार संहिताप्रति सदैव प्रतिबद्ध रहँदै आएको छ । पाँचौँ वार्षिकोत्सवमा त्यसलाई निरन्तरता दिने पुनः प्रतिबद्धता दोहोर्याउछौं । 

यस अवसरमा कपुरीलाई यहाँ सम्म पुर्‍याउन योगदान गर्नुहुने पाठक-दर्शक, विज्ञापनदाता, स्तम्भकार लेखक, शुभेच्छुकका साथै सहकर्मीहरूप्रति आभार एवं धन्यवाद प्रकट गर्दछौ ।