धरान : नगर प्रमुख हर्क साम्पाङद्वारा श्रमदानबाट बनेको प्रचार गरिएको धरान-१० नारायण पथको ड्रेन निर्माणमा धरान उपमहानगरपालिकाबाट २३ लाख ८३ हजार ८६ रुपैयाँ ५८ पैसा खर्च भएको छ ।
उपप्रमुख अईन्द्र विक्रम बेघाले आइतबार ड्रेन निर्माणको अनुगमनमा हिसाब किताब सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन ।वडाध्यक्ष विवेक राईले ड्रेन निर्माणका लागि नारायण पथ बसीले प्रत्येक घरबाट ७ हजारका दरले रकम दिएको बताए । उनका अनुसार ड्रेन बनाउन देश विदेशबाट समेत सहयोग रकम आएको थियो । उक्त रकमको हिसाब भने सार्वजनिक गरिएको छैन ।
श्रमदानमा ५६४ जना सहभागी भएको बताइएको छ । उनीहरूले दैनिक ज्याला नलिए पनि खाजा खर्चको छुट्टै हिसाब सार्वजनिक गरिएको छैन ।
सार्वजनिक गरिएको हिसाब अनुसार ड्रेन निर्माणमा मिस्त्री खर्च ६९ हजार २ सय ४८ रुपैयाँ, सिमेन्ट ९ लाख ५९ हजार ९ सय ४१ रुपैयाँ ६९ पैसा, गिट्टी २ लाख ९९ हजार ७ सय १७, बालुवा १ लाख ५० हजार ३ सय २९ रुपैयाँ ४३ पैसा खर्च भएको छ ।
यस्तै प्लाईबोर्ड १० हजार ७ सय ४२ रुपैयाँ ३८ पैसा, सेटिङ लगायतका काठ र सामान ५० हजार १ सय ३६, छड ७ लाख ८१ हजार ६ सय २ रुपैयाँ, व्याण्डिङ तार ८ सय १८ रुपैयाँ, ढुङ्गा ढुवानी ट्याक्टर भाडा ५६ हजार ५ सय ४९ रुपैयाँ ८८ पैसा खर्च भएको छ ।
निर्माण कार्यको अनुगमनमा उपप्रमुख बेघा सहित योजना प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ, योजना शाखाका किरण भुजेल लगायत इन्जिनियर र अमिनहरू सहितको टोलीले गरेका हुन ।


































































