धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक व्यक्तिमा प्लाज्मा थेरापीबाट पहिलो पटक उपचार गरिएको छ ।
सामाजिक सञ्जालहरूमा एक जना कोरोना सङ्क्रमितलाई प्लाज्मा थेरापी गर्नुपर्ने भएकोले बि पोजेटिभ रगत समूह भएका कोरोना सङ्क्रमण भई निको भएकालाई रक्तदान गर्न आव्हान गरिएको थियो । सोही अनुसार मोरङको सुन्दरहरैचा १ घर भएका एक युवाले आज वीपी प्रतिष्ठानको ब्लड बैङ्कमा आएर रक्तदान गरेपछि कोरोना सङ्क्रमणबाट जटिल अवस्थामा उपचार गराइरहेका एक जना संक्रमित बिरामीमा पहिलो पटक प्लाज्मा थेरापी उपचार गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख एवं प्लाज्मा थेरापीबारे सरकारले गठन गरेको केन्द्रीयस्तरको समितिका सदस्य प्रा.डा.सञ्जीव शर्माले जानकारी दिएका छन् ।
रक्तदान गर्ने युवामा गत जेठ तेस्रो साता कोरोना सङ्क्रमण देखिएको थियो । दुई साता गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पतालमा बसेर उनी निको भएका हुन् ।
सामाजिक सञ्जालमा कोरोना निको भएका बि पोजेटिभ व्यक्तिको खोजी भइरहेको देखेपछि नेपाल रेडक्रस सोसाइटी सुनसरी मार्फत उनी रक्तदान गर्न सोमबार धरान आइपुगेको प्रतिष्ठानको ब्लड बैङ्कका सोम भण्डारीले बताए ।
प्लाज्मा थेरापी भनेको के हो ?
प्लाज्मा भनेको मानिसको रगतको एक प्रकारको झोल पदार्थ हो ।
त्यसमा मानिसको शरीरमा भएको कोषिकाको भाग हुन्छ । रगतमा भएको कोषहरूलाई निकालेर बाँकी रहेको तरल पदार्थलाईनै प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा दिनुलाईनै प्लाज्मा थेरापी हो । कुनै पनि कोरोना सङ्क्रमण भएर निको भएका बिरामीबाट रगत निकालेर अर्को संक्रमित बिरामीलाई त्यो रगतबाट प्लाज्मा छुट्टाएर दिनु र त्यो प्लाज्माले संक्रमित बिरामीमा प्लाज्मा थेरापी गरेपछि कोरोना भाइरसलाई मार्न सक्ने एन्टिवडी बन्ने गर्दछ ।
डा. शर्माका अनुसार उक्त एन्टिबडीको काम भाइरसलाई मार्ने हो । एन्टिबडी बनेर भाइरसलाई मारेपछि बिरामी निको हुन्छ । निको भइसकेको मानिसको शरीरमा भएको एन्टिबडीलाई नै अर्को संक्रमित गम्भीर अवस्थामा पुगेका बिरामीलाई चढाइदिने विधि नै प्लाज्मा थेरापी उपचार विधि हो । नेपालमा यसअघि राजधानीमा विराट नर्सिङ होमका डा.ज्ञानेन्द्रमान कार्कीलाई यो विधिबाट कोरोनाको पहिलो उपचार गरिएको थियो ।
यसै गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख एवं प्लाज्मा थेरापीबारे सरकारले गठन गरेको केन्द्रीयस्तरको समितिका सदस्य प्रा.डा.सञ्जीव शर्माले कोरोना जितेकाहरूले रक्तदान गर्न आव्हान गरेका छन् ।
कोरोना सङ्क्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीहरूलाई प्लाज्मा थेरापी गर्नुपर्दा निको भएका व्यक्तिहरूको प्लाज्मा आवश्यक पर्ने भएकोले रक्तदान गरी राखे अरू सङ्क्रमितको उपचार हुन्छ ज्यान जानबाट जोगिन्छ ।
रक्तदान गरिराखेमा अस्पतालले प्लाज्मा छुट्टाएर राखिराख्ने र आवश्यक परेको बेलामा संक्रमित बिरामीलाई प्लाज्मा थेरापी गर्न सकिने डा.शर्माले बताए ।
नेपालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित देशभरका १२ वटा अस्पताललाई कोरोना सङ्क्रमितहरूलाई प्लाज्मा थेरापीबाट उपचार गर्न सरकारले अनुमति दिएको छ । यसै अनुसार प्रतिष्ठानमा पहिलो प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमितको उपचार गरिएको हो ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































