धरान : उदयपुरको गाईघाट ३ भुल्केको मस्जिदमा लुकेर बसेका १२ भारतीय नागरिकमा कोरोना पोजेटिभ देखिएपछि कोरोनाको जोखिमलाई ध्यान दिँदै धरानको पश्चिमी नाका अहिले साँझ देखि (सिल) बन्द गरिएको छ ।
चतराको बाटो हुँदै उदयपुरबाट मानिस आउजाउ गर्ने भएकोले पश्चिमी सीमा क्षेत्र पटनाली नाका बन्द गर्ने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिएका छन् ।
कोरोनाको उच्च जोखिम बढेर गएकोले यस्तो निर्णय गरी प्रहरीलाई आजै देखि बन्द गर्न निर्देशन दिएको मेयर राईले बताए । धरानमा उच्च जोखिम बढेकोले नगरबासी सबैलाई घरैमा बस्न आग्रह गर्दै मेयर राईले भोलि बिहान ११ बजे सुरक्षा सम्बन्धी बैठक बसेर थप निर्णय गर्ने बताएका छन् ।
धरान प्रवेश गर्ने नाकाहरू बन्द नै रहेको भए पनि अहिले साँझ देखि धरान पश्चिमको नाका चतराबाट धरान आउने सडक पुरै बन्द गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।
यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका झन् बढी जोखिममा रहेको भन्दै बराहाक्षेत्र नगरपालिकाले पनि कोसी नदी डुङ्गाबाट तरेर आउने सबै क्षेत्र र चतराको कोसी नदीको पुलमा तुरुन्त आउजाउ बन्द गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए ।
उता उदयपुरको त्रियुगा नगरपालिकाको वडानं. ३ भुल्केमा रहेको मस्जिदमा बसेका १२ भारतीय नागरिकमा कोरोना देखिएपछि वडानं. ३ भुल्केलाई सिल गरिएको छ ।
गाईघाटका पत्रकार कुशल बाबु बस्नेतले दिएको जानकारी अनुसार उदयपुरको त्रियुगा नगरपालिकाको दुई वटा मस्जिदमा आएकाहरूमा कोरोना देखिएको र अझै पनि उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको अर्को मस्जिदमा पनि २० जना भन्दा बढी भारतीय नागरिक बसेको जानकारी आएको छ ।
कोरोना संक्रमित १२ जना संगै मस्जिदमा रहेका अन्य ४ जनालाई पनि कोरोना विषेश अस्पताल विराटनगर ल्याईदै गरिएको संञ्चारकर्मी बस्नेतले जानकारी दिएका छन् ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































