परी परी आएकी रातो सारी लाएकी
किन होलिन् हाम्री दिदी माइती आएकी...

दिदी बहिनी सधै आउदा भाञ्जा भाञ्जी साथमा
भिनाजुले पठाएको घडि हातमा...

आज दिउँसो धरान १४ स्थित पिण्डेश्वर मन्दिरमा पुग्दा पुरुष स्वरमा आधुनिक पप तथा रक शैलीको यही गीत गुञ्जिरहेको थियो । मन्दिर परिसरमा महिलाहरु यही गीतको तालमा कोही चिच्याउदै त कोही कम्मर मर्काउदै उफ्रिउफ्रि नाचिरहेका थिए । आज हरितालिका तीज पर्व । बिशेष गरी नेपालका हिन्दु धर्मावलम्बी महिलाहरु ब्रत बसेर महादेवको पुजा अराधाना गर्ने दिन ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार ब्रत बसेर महादेवलाई पतिकोरुपमा पाएकी थिइन् । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्री महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरु व्रत बस्ने गर्छन्।

teej8

आजको दिन विवाहित महिलाहरु आफ्ना पतिको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै निराहार ब्रत बस्छन् भने अविवाहित नारीहरुले राम्रो पति पाउँ भन्दै ब्रत लिने चलन छ । आजको दिन धरानको पिण्डेश्वर महादेवको मन्दिरलगायत देशभरको शिवालयहरुमा ब्रतालु महिलाहरुको बिहानैदेखि घुँइचो छ । पिण्डेश्वर मन्दिरमा जल चढाउन मात्र होइन, मन्दिर परिसरमा महिलाहरुलाई नाचगान गरेर रमाइलो गर्ने कार्यक्रम पनि छ । पिण्डेश्वर बाबाधाम समितिले नै महिलाहरुलाई नाचगान तथा मनोरञ्जन गर्ने कार्यक्रम राखेको हो । यहाँ बर्षेनी महिलाहरु यसरी नै पिण्डेश्वरको दर्जन गर्ने र नाचगान गर्ने गर्छन् । त्यहाँ कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी प्रमुख अतिथि छिन् ।

teej6

यस्तै, धरानको गीता मन्दिरमा पनि दिदीबहिनी समावेशी समुहले पनि तीज बिशेष कार्यक्रम आयोजना गरेर मनाइरहेको छ । त्यहाँ पनि महिलाहरुको घुँइचो छ । ज्येष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम पनि आयोजना भइरहेको छ । कार्यक्रममा प्रदेश सभा सदस्य उमिता बराइली प्रमुख अतिथि रहेकी छिन् ।

समावेशी तीज

तीजको अवसरमा चेलीबेटीहरुलाई माइत बोलाउने र मीठोमीठो खान दिने चलन छ। हिन्दूहरुले मात्रै नभई गैर हिन्दूहरुले पनि तिजमा आफ्ना छोरीचेलीलाई माइतमा बोलाउँछन् र मीठो मीठो खुवाउँछन्। कतिपय अवस्थामा आदिवासी जनजातिहरुले दसैं लाई हिन्दूमात्रको पर्व भन्दै बहिस्कार गर्ने र टीका नलगाउने अभियान चलाए पनि तीजलाई भने आर्य, मंगोल हिन्दू, गैह्रहिन्दू सबैले मान्ने भएकाले यो पर्वलाई सामाजिक सद्भाव एवं एकताको दृष्टिले पनि महत्वपूर्ण मानिन्छ।

teej1

तीजको ब्रत र प्रेमको मिथक

तीजको ब्रत प्रेम सम्बन्धी मिथकमा आधारित छ। सतीदेवीको अर्को रुप मानिने पार्वतीले शिवजीलाई मन पराएकी थिइन्। तर, अभिभावकहरुले उनको विवाह विष्णु भगवानसँग गरिदिने निर्णय गरे। यस्तै घटना सतिदेवीका सन्दर्भमा पनि भएको थियो। शिवजीजस्तो जँड्याहासँग विवाह गरेको भन्दै सतीदेवीलाई हेला गरिएका कारण उनले यज्ञमा हाम्फालेर आत्महत्या गरेकी थिइन्। पछि पार्वतीलाई पनि यसैगरी शिवजीसँग विवाह गर्न नदिई विष्णुलाई नै भिराउन खोजिएपछि पार्वतीले आफूले प्रेम गरेका शिवजीसँगै विवाह गर्न पाउनुपर्ने जिकिर गरिन्।

पार्वतीको विवाह विष्णु भगवानसँग गर्ने निधो भएपछि साथीहरुको माध्यमबाट पार्वती भागिन्। हरि भगवानबाट लुकाइएको हुनाले यसै प्रसंगबाट हरितालिका भन्न थालिएको पुरोहितहरु बताउँछन्। हरिबाट लुकाइएकी पार्वतीले शिवजीलाई नै पति पाउँ भन्दै पानीसमेत नखाई निराहार ब्रत बसेपछि शिवजी पति पाएको र यसैलाई आधार मानेर तिजको व्रत प्रारम्भ भएको बताइन्छ।

teej3 teej4 teej7 teej9

teej, 2