धरान : अस्पताल गएपछि डाक्टरले रगत, दिसा, पिसाबको जाँच गराउने कुरालाई अधिकांश बिरामी झन्झटिलो मानेर जँचाउँदै जाँदैनन् । क्लिनिकहरूले यसलाई पैसा कमाउने उपाय बनाएको ठान्छन् ।
तर बिरामीहरूको प्याथोलोजी परीक्षण रोगको पहिचान गरी उपचार गर्ने प्रारम्भिक प्रक्रिया हो भन्ने, आफू सामान्य बिरामी भएको ठान्ने कतिपयलाई थाहा नहुन सक्छ ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्याथोलोजिस्ट डिपार्टमेन्ट प्रमुख डा. स्मृति कार्की भन्छिन् ‘ बिरामीको ज्यान बचाउने पहिलो कदम सटीक प्याथोलोजी परीक्षण र रिपोर्ट हो ।’ रोगको प्रारम्भिक पहिचानले उपचारको दिशा पनि परिवर्तन गर्न सक्ने उनले बताइन् ।
प्याथोलोजी परीक्षण रोगको पहिचान :
‘प्याथोलोजी स्वास्थ्य सेवाको लुकेको स्तम्भ’ विश्वव्यापी नारा सहित अन्तर्राष्ट्रिय प्याथोलोजी दिवस २०२५ को अवसरमा प्रतिष्ठानको प्याथोलोजी विभागद्वारा आज बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले रोगको निदानका लागि गरिने उपचारमा प्याथोलेजीको निर्णायक महत्त्व रहेको बताइन् ।
डा.कार्कीले भनिन् ‘प्याथोलोजी विषय बिरामीहरूले त्यति थाहा नभएको विषय भए पनि अस्पताल आउने प्रायःले प्रत्यक्ष अप्रत्यक्ष बुझ्न थालेका छन्, तर जन चेतनाको कमी विद्यमान छ ।’ प्याथोलाजी ल्याबको अभिन्न अङ्ग हो । ल्याबोरेटरी भन्ने बित्तिकै रगत दिसा पिसाब जाँच गर्ने भन्ने बुझिन्छ, यो बुझाइ गलत नभए पनि अपूर्ण भएको उनले बताइन् ।
उनका अनुसार, हेमाटोलोजीले रगत, साइटोलोजीले कोषिका र हिस्टोप्याथोलोजीले अङ्ग र मासुको प्याथोलेजी रिपोर्टले बिरामीको उपचारमा प्रत्यक्ष प्रभाव पार्छ । रोगको रगत कमी भएमा रक्त अल्पताले वृद्धमा क्यान्सरको सङ्केत गर्दछ । सेतो रगतको कमी वा सङ्क्रमणले क्यान्सर वा एलर्जी जनाउँछ । प्लेटलेट्स कम भए उच्च रक्तस्राव र बोन म्यारो अध्ययनले रगतका रोग र क्यान्सर पत्ता लगाउन सकिने उनले बत्ताइन् ।
साइटोलोजी र हिस्टोप्याथोलोजी गाँठो वा गिर्खाबाट कोषिका निकालेर परीक्षण गरिने प्रक्रिया हो । हिस्टोप्याथोलोजीमा अपरेशनपछि अङ्ग र टुक्राको अध्ययन, सूजन वा क्यान्सर पत्ता लगाउन सकिने हुन्छ । आधुनिक स्तरमा मोलिक्युलर परीक्षण र इम्यूनोहिस्टोकेमेस्ट्री प्रयोग गरी रोगको प्रकार र उपचार निर्धारण गर्ने डा. कार्कीले बत्ताइन ।
बिरामीहरूलाई गाह्रो भए डाक्टरकोमा जान्छन्, डाक्टरहरूलाई बिरामीको उपचार गर्न अप्ठ्यारो परे प्याथोलोजीस्ट कहाँ आउँछन् बताउँदै उनले भनिन् ‘रोगहरू पत्ता नलगाए उपचार गरेको कुनै तुक हुँदैन, लक्षणका भरमा मात्र औषधि दिनु भनेको अँध्यारोमा झटारो हान्नु जस्तो हो ।’
प्याथोलोजी सेवाको तथ्याङ्क सार्वजनिक :
अन्तर्राष्ट्रिय प्याथोलोजी दिवसकै अवसरमा प्रतिष्ठानमा सञ्चालित प्याथोलोजी सेवाको तथ्याङ्क सार्वजनिक गरिएको छ । विभाग प्रमुख डा.कार्कीका अनुसार पछिल्ला २ वर्षमा तुलनात्मक रूपमा प्याथोलोजी सेवाको प्रयोग दर बढेको छ । बिपी प्रतिष्ठानमा सञ्चालित ४ प्रकारका प्याथोलेजी सेवामा हिस्टोप्याथोलोजी, हेमाटोलोजी, साइटोप्याथोलोजी, आईभि ब्लड बैङ्क छन् ।
प्रतिष्ठानकाको परीक्षण तथ्याङ्क अनुसार २०८०/०८१ मा हिस्टोप्याथोलोजी ५६३,०००, हेमाटोलोजी ७,४५६, साइटोप्याथोलोजी २,५६२, ईभि ब्लड बैङ्क सेवा ११० थियो । उक्त परीक्षण सङ्ख्या वृद्धि भई आर्थिक वर्ष २०८१÷०८२ मा क्रमशः ५६३,२०५, ८,१४३, ३,०८५, २७५ सङ्ख्यामा परीक्षण भएको छ । वृद्धि प्रतिशत ५ देखी २० दशमलव ३५ प्रतिशत रहेको छ ।
डा. कार्कीका अनुसार स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालमा हुने ७० प्रतिशत उपचार निर्णय प्रयोगशाला परीक्षणमा आधारित रहेको जनाएको छ । तर, मोलिक्युलर तहका परीक्षणहरू अझै सीमित रहेकाले वार्षिक करिब १५ हजार परीक्षण नमुना भारत पठाइने गरेको तथ्य सार्वजनिक भएको छ ।
प्रतिष्ठानको सार्वजनिक सन्देश :
अन्तर्राष्ट्रिय दिवसका अवसरमा वपीकी प्याथोलोजिस्टहरूले जनतालाई नियमित स्वास्थ्य परीक्षणमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।बिरामीको उपचार प्रत्यक्ष नदेखिए पनि प्याथोलोजिस्ट नागरिकको स्वास्थ्यका साझेदार हुन ।
बिरामीको प्रारम्भिक निदानले परिणाम सुधार गर्ने भएकाले बेला बेला स्वास्थ्य परीक्षण गर्न र परीक्षणको नतिजा तुरुन्तै अनुगमन गर्न आग्रह प्रतिष्ठानले आग्रह गरेको छ । परीक्षणको प्रयोगशाला रिपोर्टहरूको बारेमा बेला बेला चिकितसकहरुसँग प्रश्न गर्न ध्यानाकर्षण गराएको छ ।
विभाग प्रमुख डा. कार्कीले भनिन् ‘नियमित स्वास्थ्य जाँच रोकथामको लागि महत्त्वपूर्ण हुन्छ, रोग विशेषज्ञहरू स्वास्थ्यमा तपाईँको साझेदार हुन, नदेखिए रोग हुन सक्छ सामूहिक छलफलद्वारा समाधान गर्न हामी प्रतिबद्ध छौँ ।’



































































