काठमाडौँ : डिशहोमले स्पा तथा सलोन सेवामा अग्रणी ब्राण्ड द ट्राङक्विलिटी स्पासँग रणनीतिक साझेदारी गरेको छ।

कम्पनीले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यस सहकार्यमार्फत ग्राहकहरूलाई स्वास्थ्य र वेलनेस सेवामा विशेष सुविधा प्रदान गर्ने जनाएको छ।

सहयोगको सुरुवातसँगै अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा सेवा प्राप्त गर्दा विशेष छुट पाउने भएका छन्। सम्झौता अनुसार ग्राहकले सबै स्पा र सलोन सेवामा २५ प्रतिशत, केवल सलोन सेवामा २० प्रतिशत तथा ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीमा हुने तालिम कार्यक्रममा ३० प्रतिशत छुट पाउनेछन्।

लक्जरी वातावरण, अनुभवी थेरापिस्ट र विश्वस्तरीय उपचारका लागि परिचित ट्राङक्विलिटी स्पाले देशका प्रमुख सहरहरूमा शाखा विस्तार गरी वेलनेस र रिल्याक्सेसन क्षेत्रको विश्वसनीय नामको रूपमा स्थान बनाइसकेको छ। यस सहकार्यले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सेवाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

काठमाडौंस्थित द ट्राङक्विलिटी स्पाले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू सञ्चालन गर्दै आएको छ। अनुभवी प्रशिक्षकहरूद्वारा सञ्चालन हुने यी तालिमहरूले नेपालका आगामी पुस्ताका वेलनेस व्यवसायिकहरू तयार पार्ने उद्देश्य लिएको छ।

यो सुविधा केवल सक्रिय डिशहोम ग्राहकका लागि हुनेछ, जसलाई myDishHome एपमार्फत प्रयोग गर्न सकिने कम्पनीले स्पष्ट पारेको छ। सहकार्यलाई औपचारिक बनाउन ट्राङक्विलिटी स्पा एण्ड सर्भिसेसका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका नयाँ उत्पादन विकास विभाग प्रमुख सबिन महर्जनबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको कम्पनीले जनाएको छ।