धरान : कवि विमल गुरुङ स्मृति पुस्तकालयमा बुधवार आयोजित ५४औँ जन्मजयन्ती समारोहमा २ लाख रुपैया राशीको विमल गुरुङ कृति पुरस्कार ‘सिमसारा’ उपन्यासका लागि पत्रकार बसन्त बस्नेतलाई प्रदान गरिएको छ ।

सोही अवसरमा ३४औँ राष्ट्रिय कविता महोत्सवमा पाठ गरिएका कविताहरू मध्ये इलामेली कवि रीजन मायालु’ प्रथम भए । धरानका कवि दिनेश राई द्वितीय र वराहक्षेत्रकी कवि यत्री दीपा मग्राती तृतीय भइन् ।

उनीहरूलाई प्रथम पुरस्कार नगद २१ हजार, दोस्रो पुरस्कार १९ हजार र तेस्रो पुरस्कार १७ हजार प्रमाणपत्र र मेडल प्रदान गरियो । समारोहमा कवि चन्द्र गुरुङद्वारा सम्पादित विमल गुरुङ संस्मरण पुस्तक लोकार्पण गरियो ।

प्रमुख अतिथि लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङले पुरस्कार वितरण गरे गरे । सिनेकर्मी नवीन सुब्बा विशेष अतिथि थिए । पुस्तकालय अध्यक्ष पूर्णबहादुर गुरुङका अनुसार पुरस्कारका लागि स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकार र सर्जकबाट १०४ कृति प्राप्त भएको थियो ।

कार्यक्रममा लेखक भूषिता वशिष्ठले वसन्त बस्नेतको परिचयात्मक मन्तव्य प्रकट गरे । मेयर माबुहाङ र नवीन सुब्बाले बस्नेतको पत्रकारिताको शैली र लेखनको चर्चा गरे ।

नाट्यकर्मी गोपाल देवान, युवा कवि अमित थेबे लगायतले विमल गुरुङको योगदान र समकालीन नेपाली साहित्यमा उनको प्रभावबारे विचार व्यक्त गरेका थिए ।

bimal-smriti