इटहरी : इलाका प्रहरी कार्यालय पकलीलाई एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई थान थ्री-सिटर कुर्सी सहयोग गरेको छ।
संस्थाको केन्द्रीय कार्यालय पोखरा-८ न्युरोड, कास्कीबाट प्रादेशिक कार्यालय इटहरीमार्फत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको हो। भदौ २४ गते इटहरीमा भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त इलाका प्रहरी कार्यालयमा सेवाग्राहीहरूलाई सहज बस्नका लागि यो सहयोग गरिएको बताइएको छ।
सहयोगका रूपमा प्रदान गरिएका दुई थान थ्री-सिटर कुर्सी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्जिव ओलीलाई सोमबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा एनएमबी लघुवित्तका प्रदेश प्रमुख सुरेश कार्की, क्षेत्रीय प्रमुख तीर्थराज राई, लबीपुर शाखाका शाखा प्रमुख धिरज कुमार झा, कर्मचारी रमेश खड्का र सुजता श्रेष्ठ उपस्थित रहेका थिए।
प्रदेश प्रमुख कार्कीका अनुसार, 'संस्थाले समुदाय र सार्वजनिक संस्थाका आवश्यकता अनुसार सहयोग गर्दै आएको छ। पकली इलाका प्रहरी कार्यालयलाई सहयोग गर्नु पनि सोही उत्तरदायित्वअन्तर्गतको निरन्तरता हो।'
भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुनसरीका इटहरी, इनरुवा, दुहबी, भोक्राहा नरसिंह, कोशी लगायतका स्थानीय तहमा रहेका २८ वटा सरकारी तथा निजी संरचना क्षतिग्रस्त भएका थिए। इटहरी उपमहानगरपालिकाको भवन, विभिन्न वडा कार्यालय, इलाका प्रहरी कार्यालय इटहरी र पकली लगायतका संरचनामा तोडफोड र आगजनी भएको थियो।
सो प्रदर्शनमा सुनसरीमा दुई जनाको मृत्यु समेत भएको थियो।


































































