धरान : आफूले शिक्षा दीक्षा पाएको विद्यालय कसैले पनि बिर्सन्न, स्कुले बाल्यकालसँग घरबाट पढ्न पठाउने अभिभावकको स्मृति जोडिएको हुन्छ ।
त्यसलाई चिरस्थायी सम्झनामा राख्न धरान–३ स्थित भानु स्मृति विद्यालयका पूर्व विद्यार्थीद्धय दुर्गा र शैलीका लिम्बुले बुधवार ५१ हजार ५ रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।
पूर्व विद्यार्थीद्धय स्वर्गीय विष्णुकुमार लिम्बुका छोरीहरू हुन । बुवाले मिहिनेत गरेर छोरीहरू पढाएको उनीहरूले बिर्सेका छैनन् । बुवाको संम्झनासंगै स्कुलको र स्कुलको सम्झनासँगै बुवाको सम्झना आउने दुर्गा लिम्बुले बताइन् ।
त्यही स्मृतिलाई भौतिक रूपमा स्थायी बनाउन दिवङ्गत बुवाको १९ औँ स्मृति दिवसमा अक्षयकोषका लागि रकम प्रदान गरिएको हो । एक कार्यक्रमका बिच आमा जितमाया लिम्बु सहित छोरी द्वयले कोषका लागि नगद रकम विद्यालयलाई प्रदान गरेका छन् ।
रकम प्रधानाध्यापक रवीन्द्र सुवेदी, व्यवस्थापन समिति अध्यक्ष नैना कला न्यौपानेले ग्रहण गरेका हुन । छोरी दुर्गाले भनिन् ‘हामी यहीँ पढ्दै हुर्केका हौँ, यो विद्यालयले हाम्रो जीवनको आधार बनायो, आज बुबाको सम्झनामा केही फर्काउन पाउँदा गर्व लागेको छ ।’
‘स्वर्गीय विष्णु कुमार लिम्बु जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष’बाट विद्यालयका मेधावी र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक सुवेदीले बताए ।
विद्यालयमा पहिलो पटक २०६७ मा स्कुलकै कर्मचारी रामबहादुर अधिकारीले अक्षयकोष स्थापना गरेका थिए । उनको २० हजार रुपैयाँको छात्रवृत्तिको सुरुआतले अहिले १६ लाख रुपैयाँका छात्रवृत्ति कोष विद्यालयमा सञ्चालित छ ।
अक्षयकोषको व्याजबाट हरेक वर्ष विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिँदै आएको प्रधानाध्यापक सुवेदीले बताए । स्वर्गीय विष्णु कुमार लिम्बुको स्मृतिमा पूर्व विद्यार्थी छोरीहरूबाट स्थापित छात्रवृत्ति कोष उदाहरणीय भएको उनको भनाई छ ।
उक्त अवसरमा व्यवस्थापन समिति सदस्य दानबहादुर राई, शिक्षक, विद्यार्थी र अभिभावकहरूको उपस्थिति थियो । कार्यक्रम सञ्चालन शिक्षक ओम रिमालले गरेका थिए ।


































































