धरान(डेस्क): प्रदेश नं १ को नाम र राजधानीलाई एकै पटक टुंग्याउन नेकपाले प्रस्ताव नलैजाने र वृहतत्तर विराट क्षेत्रलाई राजधानी बनाउने निर्णयलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अपरिपक्क निर्णय भनेको छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले नेकपाले वृहत्तर विराट क्षेत्रलाई राजधानी घोषणा गर्ने निर्णय गरेको भए त्यो अपरिपक्क हुने टिप्पणी गरे । साथै उनले नेपालको संविधान घोषणा गर्न नजुरेको जस्तै प्रदेश नं १ को नाम र राजधानी घोषणा गर्न पनि नेकपालाई नजुर्ने परिस्थिति बनेको बताए । ‘नेकपाले वृहत्तर विराटक्षेत्र राजधानी बनाउने निर्णय गरिसकेको हो भने अपरिपक्क हो, किनभने नेपालको संविधान र कानुनले वृहत्तर विराट क्षेत्र के हो भनेर चिन्दैन,’प्रमुख सचेतक कार्कीले भने,‘संविधानले नचिनेको ठाउँमा कसरी राजधानी प्रस्ताव हुन्छ ?’

कार्कीका अनुसार धरान, इटहरी, विराटनगर लगायत स्थानीय तह वा कुनै जिल्लालाई राजधानी तोक्न मिल्ने तर संविधान, कानुनले नचिनेको वृहत विराट क्षेत्रलाई तोक्न नमिल्ने जिकिर गरे । ‘यो निर्णय गरेको भए अपरिपक्क निर्णय हो । राजधानी मात्र प्रस्ताव ल्याउने तर नाम नै किन नल्याउने ? राजधानीमा कम्प्रमाइज गर्नुपर्ने तर नाममा चै किन नगर्ने ?’,कार्कीले भने,‘नेकपालाई संविधान घोषणा गर्न नजुरेजस्तै प्रदेशको नाम र राजधानी ल्याउन पनि जुरेको छैन जस्तै छ । अहिलेसम्म नाम र राजधानी प्रस्ताव गर्नै सकेन ।’

कार्कीले आजसम्म सहमतिकै लागि कांग्रेसले प्रतिक्षा गरेको तर अब भने कांग्रेसले पनि निर्णय गर्ने बताए । ‘राजनीतिक एजेण्डा हो, यसमा संख्या गनेर हुदैन । राजनीतिक एजेण्डा जनताको सरोकार हुने भएकोले सहमतिमै गरौ भनेर कांग्रेसले पनि पर्खिएको हो,’उनले भने,‘अब कांग्रेसले भोली निर्णय गर्छा ।’ प्रदेशसभामा दुई तिहाई बहुमत भएको नेकपाका अधिकांश सांसदहरु विराटनगर राजधानीको विपक्षमा भएपछि नेकपाले वृहत्तर विराट क्षेत्रलाई राजधानी घोषणा गर्ने र प्रदेशसभा, संसद सचिवालय इटहरीमा सार्ने सहमति गरेका छन् ।