दमक : मोरङको उर्लाबारी नगरपालिकाका शिक्षा अधिकृत शम्भुप्रसाद भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । उनी शिक्षाबाहेकका सबै प्रशासनिक कामको समेत नेतृत्व गर्छन् ।

कार्यपालिकामा प्रस्तुत थर्ने ऐन, नियम, विनियमसमेत प्रस्तुत गर्छन् । उनी शिक्षाका उपसचिव हुन् तर काम भने प्रशासनिक क्षेत्रको गर्नुपरेको छ । भट्टराईले नगरपालिकामा निमित्त काम गर्न थालेको २ महिना बितिसकेको छ । उनलाई केही अनौठो भने लागेको छ । उनले भने, ‘विगतमा शिक्षा प्रशासनको मात्रै जिम्मेवारी सम्हालेको थिएँ भने अहिले सबै प्रशासनको नेतृत्व गर्नुपरेको छ ।’ मंसिर २३ गतेदेखि निमित्त सम्हालेका उनी उर्लाबारीकै बासिन्दा हुन् । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको नगरप्रमुख खड्ग फागोसंग विवाद बढेपछि मेरो सरुवा भएको थियो । त्यसयता नगरको कर्मचारीको नेतृत्व मैले सम्हालेको छु, भट्टराईले भने, ‘सबैका आ–आफ्नै जिम्मेवारीअनुसार काम गरेका छौँ, सुरुमा समस्या भने पक्कै भयो ।’

दमक नगरपालिकाका शिक्षा अधिकृत शालिकराम काफ्ले उपसचिव हुन् । उनले नगरभित्र बन्ने घरका लागि इजाजत दिन्छन्, घर सम्पन्न भएपछि सम्पन्नताको प्रमाणपत्र दिन्छन् । यो काम उनका लागि नौलो छ । एक वर्षयता उनी नै कर्मचारीको फिल्डमा गएको लगबुक राख्छन् । अर्का प्रशासनका उपसचिव गणेस तिम्सिना भने समग्र कार्यालयका कर्मचारीको नेतृत्व गरेका छन् ।

शिक्षा क्षेत्रको कामबाहेक उनको अरु पनि काम छ । हरेक निवेदनको तोक उनले नै दिनुपर्छ । अधिकृतस्तरको कर्मचारीको खटाउने , विदा दिने, भ्रमण आदेश सबै उनकै जिम्मेवारीभित्र पर्छ । ५० हजारसम्मको खरिद दाखिलासमेत उनैला ई गर्नुपर्छ ।

–नागरिक पूर्वेली दैनिकबाट