धरान : किरात इतिहासकार इमानसिंह चेम्जोङको १२३ औँ जन्म जयन्ती धरानमा आज बिहीबार अङ्ग्रेजी सम्बतको १ जनवरीको दिन चुम्लुङ हिम स्थित उनको शालिकमा माल्यार्पण गर्दै मनाइएको छ ।

उक्त अवसरमा प्रमुख अतिथि किरात याकथुङ चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा. कमल तिगेलले इमानसिंह चेम्जोङ नेपालको इतिहासमा किरात र लिम्बुवानको इतिहास, भाषा, लिपि, साहित्य स्थापित गर्ने पहिलो इतिहासकार भएको बताए ।

उनले लेखेको इतिहास अलग गरेमा नेपालको इतिहास पुरा नहुने भएकाले पछिल्लो इतिहास लेखकहरूले उनले स्थापित गरेका तथ्यहरूको आधारहरू नयाँ इतिहास लेख्दै आएका उनको भनाई थियो ।

चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवाले इमानसिंह चेम्जोङको जीवनीको चर्चा गदै उनको सम्मानमा नेपाल सरकारले हुलाक टिकट जारी गरे तापनि चेम्जोङलाई राष्ट्रिय विभूती घोषित नगर्नु चित्त नबुझ्ने भएको बताए ।

उनले भने ‘सरकारले औपचारिक रूपमा घोषणा नगरे पनि इतिहास, भाषा, संस्कृतिको क्षेत्रमा सबैले इमानसिंह चेम्जोङलाई राष्ट्रिय विभूती मान्दै आएका छन् ।’

कार्यक्रममा थाक्थोक माबोहाङ चेम्जोङ वंश प्रतिष्ठानका केन्द्रीय सदस्य सुमन चेम्जोङ, चुम्लुङ केन्द्रीय सदस्य सङ्गीता सुब्बा, सल्लाहकार नरप्रसाद लिम्बु, चन्द्रमाया लिम्बु, हर्ष सुब्बा लगायत सहभागीहरूले चेम्जोङको शालिकमा माल्यार्पण गरी श्रद्धा प्रकट गरेका थिए ।

चुम्लुङ धरान नगर समितिद्वारा आयोजित कार्यक्रमको सभापतित्व कार्यवाहक नगर अध्यक्ष ललिता नेम्वाङले गरेकी थिइन् । सञ्चालन नगर सचिव विप्लव थक्लेन लिम्बुले गरेका थिए ।

चेम्जोङको जीवनी सम्बन्धी दस्ताबेजहरूमा उनको जन्म १ जनवरी सन् १९०४ मा दार्जिलिङको कालिम्पोङमा भएको उल्लेख छ । सोही अनुसार चेम्जोङको जन्म जयन्ती अङ्ग्रेजी सम्बतको नयाँ वर्षको पहिलो दिन मनाइँदै आएको हो । उनको निधन ७१ वर्षको उमेरमा २०३३ साल असोज २२ गते भएको थियो ।

चेम्जोङ लिम्बु जातिको राजनीतिक, भाषा, संस्कृतिको इतिहासलाई आधिकारिक रूपमा स्थापित गर्ने पहिलो इतिहासकार हुन । उनको ऐतिहासिक खोज, अनुसन्धानबाटै किरात समुदायको इतिहासका आधारहरू तयार भएकोले उनलाई त्रिभुवन विश्वविद्यालयले ‘किरातोलोजिष्ट’को उपाधि दिएको थियो ।

चेमजोङको ‘किरात कालिन विजयपुरको इतिहास’मा धरान स्थित विजयपुर लिम्बुवानको राजधानी भएको तथ्यहरू सहित यहाँको दरबार स्थल, हात्तीसार, बुढासुब्बा मन्दिरको इतिहास, भूगोलका बारेमा विस्तृत कुरा उल्लेख छन् ।

उनको किरात इतिहास, लिम्बु भाषा, संस्कृति सम्बन्धी दर्जनको सङ्ख्यामा प्रकाशित छन् । चेम्जोङले त्रिविमा किरातोलोजिष्टका रूपमा गरेका अध्ययन अनुसन्धानका आधारमा उक्त पुस्तकहरू प्रकाशित भएका हुन ।

नेपालको इतिहासमा पूर्वी नेपालको ऐतिहासिक तथ्यहरू इमानसिंह चेम्जोङले लेखेको इतिहास उल्लेख नगरी पूर्ण हुन्न । उनी किरात लिम्बु समुदायको इतिहास खोजकर्ता मात्र थिएनन् । नेपालको राजनीतिक इतिहासमा इमानसिंहले प्राज्ञिक योगदानको उच्च मूल्याङ्कन गर्दै २०५५ सालमा तत्कालीन सरकारले उनको सम्मानमा १ रुपैयाँको हुलाक टिकट जारी गरेको थियो ।

उनले लिम्बुवान, किरात प्रदेशका तथ्यहरूलाई स्थापित गर्न अभियन्ताको रूपमा पनि महत्त्वपूर्ण योगदान गरेका छन् ।