इटहरी : सुनसरीको सीमावर्ती क्षेत्र लौकही बजार तनावग्रस्त बनेको छ ।
कोशी गाउँपालिका १ का विजय शाहको हत्या भएपछि स्थानीयले सडक जाम गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले ६ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ ।
हत्याको जिम्मा सशस्त्र प्रहरी बलले लिनुपर्ने बताउँदै स्थानीयले घुँस नदिएपछि गोली हानिएको आरोप लगाएर आफन्त र स्थानीयले प्रदर्शन जारी राखेका छन् ।
सशस्त्र प्रहरी बलले भने बुधवार राती भारतीय बजारबाट चिनी लिएर आउँदै गरेका शाहको समूहले गोली हानेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको जनाएको छ ।
खुल्ला सिमानाको कारण भारतीय बजारबाट रात्रिकालीन रूपमा हुने तस्करी नियन्त्रणमा सशस्त्रले काम गरिरहेपनि हत्या नै गरेको यो विरलै घटना मध्ये एक हो ।
स्थानीयका अनुसार शाहले चिनी ल्याएको र चेकजाँचको क्रममा भनाभन भएको थियो । शाहले अटेर गरेर जान खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको जनाइएको छ ।
स्थानीय र आफन्तजनले सशस्त्रले स्थानीयलाई बारम्बार दुख: दिने गरेको बताएका छन् ।
बुधवार रातिको घटनामा समेत सशस्त्रले पैसा माग्दा नदिएपछि गोलीप्रहार गरिएको उनीहरूको आरोप छ।
हाल जिल्ला प्रशासन कार्यालय इनरुवामा मृतकका परिवार, जनप्रतिनिधि,प्रहरी प्रशासन, सशस्त्र प्रहरी बल लगायतको उपस्थितिमा वार्ता भइरहेको छ ।









































































