धरान : लिम्बू पत्रकार सङ्घ, सुनसरीले सुरु गरेको ‘एक सुका अभियान’ले पुष १५ गते सम्ममा ७ लाख ७० हजार ५ सय ५० रुपैयाँ अक्षयकोषका लागि सङ्कलन गरेको छ ।
पत्रकारितामा संलग्न लिम्बु समुदायका प्रतिभालाई प्रोत्साहित गर्न तथा मिडियामा लिम्बु भाषा, संस्कृति र इतिहासका खोजमूलक पत्रकारिता गर्दै आएका सञ्चारकर्मीलाई पुरस्कार प्रदान गर्न अक्षयकोष अभियान सुरु गरिएको हो ।
सङ्घका अध्यक्ष स्वर्णिमहाङ फोम्बोका अनुसार कुल १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्न २०८२ असार १ गतेदेखि एक सुका अभियान सुरु गरिएको हो । अभियानले ७ महिनामा उक्त रकम सङ्कलन गरेको हो ।
अभियानलाई पछिल्लो पटक हाल बेलायतमा बसोबास गर्दै आएकी धरान–१० की समाजसेवी नरकुमारी लिम्बुले ५ हजार १०० रुपैयाँ प्रदान गरेपछि एक सुका अभियानको कोषमा उक्त अङ्कमा रकम सङ्कलन भएको हो ।
अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट लिम्बू समुदायको भाषा, लिपि, संस्कार,संस्कृति, मुन्धुम, ऐतिहासिक थाक थलो लगायत विषयमा समाचार, भिडियो तथा सामग्री प्रकाशन–प्रसारण गर्ने पत्रकारलाई वार्षिक नगद पुरस्कार प्रदान गरिन्छ ।
पुरस्कार दुई जना लिम्बू र एक जना गैर लिम्बू सञ्चारकर्मीलाई हित सम्मान गरिने अध्यक्ष लिम्बुले बताए । सङ्घले अक्षयकोषलाई लक्ष्यअनुसार १० लाख रुपैयाँ सम्म पुर्याउन सबैमा सहयोग गरिदिन आग्रह गरेको छ ।


































































