धरान : राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी जिल्लाको घोषणा सभा पुस १९ गते धरानको भानु चोकमा आयोजना हुने भएको छ।

मङ्गलवार धरानमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका सुनसरी अध्यक्ष उजेन राईले सुनसरी जिल्ला समिति गठन भइसकेको जानकारी दिँदै पार्टीको बृहत् उपस्थितिसहित घोषणा सभा आयोजना गर्न लागिएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राईले नगरप्रमुख हर्क साम्पाङ प्रति कटाक्ष गर्दै “आवेगको होइन, निष्ठाको राजनीति आवश्यक छ ।” हचुवाको भरमा राजनीति गर्नु नहुने राईले बताए । उनले नगरप्रमुख साम्पाङले आवेग र कुण्ठा सहितको राजनीति गरेको भन्दै आवेगको भरमा राजनीति नहुने उनको भनाई थियो ।

अध्यक्ष राईका अनुसार पार्टीका प्रमुख एजेन्डामा प्रत्यक्ष राष्ट्रपति प्रणाली, शून्य भ्रष्टाचार, सुशासन र इमानदार राजनीति, राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षा, राष्ट्रिय पहिचान, देश विकासलाई प्राथमिकता, ‘नेपालको युवा नेपालमै’, पारदर्शी सरकार, न्याय, शिक्षा र स्वास्थ्यको सुदृढ व्यवस्था, आर्थिक स्तम्भको विकास, चुनावमा एकता र सहकार्य तथा सहिदको रगत, घाइतेको पीडा र अभिभावकको आँसु फेरि इतिहासको पानामा मात्र सीमित नहोस् भन्ने विषय समावेश छन्।

अन्य जिल्लामा घोषणा सभा सम्पन्न गरिसकेको पार्टीले सुनसरी घोषणा सभामार्फत पार्टीको आगामी राजनीतिक दिशा, सङ्गठन विस्तार,नीति तथा कार्यक्रम स्पष्ट रूपमा सार्वजनिक गरिने अध्यक्ष राईले जानकारी दिए।

घोषणा सभामा पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। पोर्तेल जेन–जी आन्दोलनका क्रममा एक खुट्टा गुमाएका घाइते हुन्। पार्टी सचिव शिवराज जिमीका अनुसार विशेष अतिथिका रूपमा पूर्व आइजिपी सर्वेन्द्र खनाल,पूर्व प्रधान सेनापति माधव सुन्दर खड्का तथा पार्टीका केन्द्रीय प्रवक्ता सहभागी हुनेछन्।

यसै गरी,पार्टीका अध्यक्ष राईले निर्वाचनका लागि उम्मेदवार चयन तथा सिफारिस अन्य जिल्लामा सम्पन्न भइसकेको र सुनसरीमा प्रक्रिया जारी रहेको जानकारी दिए। उनले पार्टीको अस्तित्व गुम्ने गरी कसैसँग पनि पार्टी एकता नहुने स्पष्ट पारे।

उनले जेन–जी सहिद परिवार, घाइतेहरू तथा सचेत नागरिकहरूले देशलाई अग्र गतिमा लैजाने उद्देश्यसहित स्थापना गरेको राष्ट्रिय परिवर्तन पार्टीको सभामा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने बताए ।