धरान  : धरान उपमहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईले विकास भनेको केवल सडक र नाला मात्र नभई शिक्षा,खेलकुद, पर्यटन र व्यापारिक क्षेत्रमा समेत सम्मान सहभागिता सहितको विकास हुनुपर्नेमा जोड दिए ।

आइतबार महोत्सव समापनमा प्रमुख अतिथि भट्टराईले भने'धरानको विकास एकाङ्गी नभई बहुआयामिक हुनुपर्छ।' व्यवसायीहरू इटहरीतर्फ सर्दै गएको उल्लेख गर्दै यसको कारण र समाधानबारे नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्ने धारणा  राखे। व्यवसायमैत्री वातावरण निर्माण गर्न नसक्दा धरान कमजोर बन्दै गएको  बताए ।

उनले धरान १६ को संयोजनमा खेलकुद क्षेत्रलाई अगाडी बढाउन जागरण क्लबको आयोजनामा वडा स्तरीय महिला फुटबल प्रतियोगिता गरेको बताए ।

भट्टराईले गोधुली फुटबल क्लब र धरान फुटबल क्लबको योगदानको प्रशंसा गर्दै, खेलकुदमार्फत धरानको साख जोगाउन क्लबहरूले खेलेको भूमिकामा सन्तोष व्यक्त गर्नुभयो। बक्सिङ र कराँते खेलाडीहरूको मेहनत र किरण लामाको कराँते क्षेत्रमा लामो योगदान रहेको चर्चा गरे ।

महोत्सव समापन समारोहमा धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवबाट उठेको रकम खेलकुद अध्ययन केन्द्र स्थापना गर्न प्रयोग गर्ने बताए। उनले अध्ययन केन्द्रमा लेजेन्डरी खेलाडीहरूको योगदान चिनाउने, जीवनी सङ्कलन गर्ने, र नवप्रतिभा भएका खेलाडीहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने काम गरिने बताए।

राईले भने, “खेलकुद अध्ययन केन्द्र बनाउँछौँ, जसले खेल जगतको महत्त्व र खेलाडीहरूको अतुलनीय योगदानलाई उजागर गर्नेछ।”

मङ्सिर २५ गतेबाट सुरु भएको खेलकुद महोत्सव १५ दिने योजना भए पनि समय थप गरेर १८ दिनसम्म सञ्चालन भएको महोत्सवमा खेलकुदसम्बन्धी विभिन्न खेल खेल्न मिल्ने थिम स्टलहरू राखिएका थिए । भने प्रत्येक साँझ सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम प्रस्तुत भएको थियो ।

मञ्चका अध्यक्ष राईले १८ दिने महोत्सव अवधिभर करिव १ करोड भन्दा बढीको कारोबार भएको बताए ।

साथै आगन्तुकहरूका लागि आदिवासी जनजातीय परिकारका खानपान स्टलहरूको व्यवस्था गरिएको थियो ।समापनमा विभिन्न खेलका प्रशिक्षक र खेलाडीहरूको उपस्थिति रहेको थियो ।

smapan-samaroh