धरान : नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले फागुन २१ मा हुने निर्वाचन “देश बनाउने र देश भत्काउने बिचको ऐतिहासिक जनमत सङ्ग्रह’ भएको बताएका छन् ।
धरानको भानुचोकमा शनिवार आयोजित पार्टीका चुनावी सभामा उनले भने ‘यो निर्वाचन केवल सत्ता प्रतिस्पर्धा नभई राष्ट्र निर्माण बनाम राष्ट्र विघटनको निर्णायक राजनीतिक सङ्घर्ष हो ।’निर्वाचन सामान्य सत्ता हस्तान्तरणको प्रक्रिया मात्र नभई यो देश कसले बनाउँछ ? भन्ने प्रश्नको उत्तर खोज्ने ऐतिहासिक क्षण पनि भएको बताए ।
उनले चुनावी नाराको केन्द्रमा सुशासन, भ्रष्टाचारको अन्त्य र पारदर्शिता रहेको बताउँदै सुशासन अन्तर्गत शान्ति–सुरक्षा, विधिको शासन, गुणस्तरीय सार्वजनिक सेवा, सहज सेवा प्रवाह, प्रशासनिक सुधार र अनियमितता नियन्त्रणलाई प्राथमिक एजेन्डा भएको उल्लेख गरे ।
उनका अनुसार मुलुकका वास्तविक शत्रुहरू असमानता, गरिबी, बेरोजगारी, वञ्चितीकरण र निषेधको राजनीति हुन ।
यी चुनौतीहरू परास्त गर्न संसदमा स्थिर नेतृत्व र बलियो बहुमत आवश्यक रहेको बताउँदै उनले उनले नेकपा एमालेको नेतृत्वमा बलियो संसद निर्माण अपरिहार्य भएको जिकिर गरे ।
एमालेको रोडम्याप
गौतमले नेकपा एमालेले एकीकृत राजनीतिक रोडम्यापको रूपमा कानुन–व्यवस्था र सार्वजनिक सेवा सुधार अघि सारेको साथै सुशासन केन्द्रित प्रशासनिक संरचना अघि सारेको बताए ।
धरान कोरिडोर र सुरुङ मार्ग निर्माण गर्दे संवैधानिक समीक्षा र लक्षित संशोधन र सङ्गठनात्मक एकता र सन्देश समन्वय जस्ता प्रमुख ५ वटा रोडम्याप देखाए । तर यी सबै रोडम्याप अगाडी बढाउन एमालेको स्थिर सरकार बन्न आवश्यक रहेको बताउँदै गौतमले भने ‘एमालेको सरकार बनाउन सुनसरी १ मा टिकाराम लिम्बुलाई मतदान गर्न आवश्यक छ ।’
सुरुङ मार्ग एमालेले बनाउँछ
सुनसरी–१ का नेकपा एमाले उम्मेदवार टिकाराम लिम्बुले निर्वाचनपछि धरानलाई क्षेत्रीय विकास केन्द्रको रूपमा अघि बढाउने अवधारणा प्रस्तुत गरे ।
उनले तमोर र कोशी नदी किनारका सडक विकास, छोटो दूरीका यातायात मार्ग, प्रस्तावित सुरुङ मार्ग, त्रि–राष्ट्रिय मार्ग अवधारणा र खानेपानी पूर्वाधारलाई एकीकृत गर्दै विकास रणनीति अघि बढाइने बताए ।
रेड बुक बजेटमा समावेश भइसकेका योजनालाई निरन्तर प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । लिम्बुले आफ्नो पार्टीको सङ्गठन बलियो रहेकाले आफू बलियो उम्मेदवार रहेकोले जित सुनिश्चित रहेको दाबी गरे ।
सभामा नेकपा एमाले केन्द्रीय सदस्य जयकुमार राई लगायतले धरान बनाउन एमालेको हात रहेको बताए ।