वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा धाम स्थित राधाकृष्ण संस्कृत बेद विद्याश्रम गुरुकुलमा माध्यमिक विद्यालयको भवनको शिलान्यास गरिएको छ । बिहीबार बिहान शुभ साइतमा नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यतामा भवनको शिलान्यास कार्य सम्पन्न भएको हो ।
विद्यालयको स्तरोन्नयनका लागि आयोजना गरिएको द्वादश दिवसीय विराट ज्ञान महायज्ञबाट सङ्कलित रकमबाट भवन निर्माण हुनेछ । ३ तल्लामा २० वटा कोठा रहेने भवनकालागि २ करोड १८ लाख बजेट विनियोजन गरिएको भवन निर्माण समितिका अध्यक्ष प्रह्लाद भट्टराईले जानकारी दिए ।
नेपाल राष्ट्रका प्रथम जगद्गुरु वाल सन्त मोहनशरमनले देवाचार्य महाराजश्रीको परिकल्पनामा २०५९ सालमा स्थापना भएको गुरुकुलको भवनहरू अत्यन्त जीर्ण भएको र यसको स्तरोन्नति तथा छात्रावास निर्माण कालागि द्वादश दिवसीय विराट ज्ञान महायज्ञको आयोजनाबाट रकम सङ्कलन  गरिएको राधाकृष्ण संस्कृत गुरुकुलमा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मनोज पौडेलले जानकारी दिए । 
राधाकृष्ण संस्कृत गुरुकुलमा माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मनोज पौडेलको सभाध्यक्षतामा आयोजना भएको शिलान्यास कार्यक्रममा नगर प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यता,राधाकृष्ण संस्कृत गुरुकुलमा माध्यमिक विद्यालयका संरक्षक नेपाल राष्ट्रका प्रथम जगद्गुरु वाल सन्त मोहनशरमनले देवाचार्य महाराजश्रीको  विशेष आतिथ्यता,जगद गुरु पिठका महासचिव तथा भवन निर्माण समितिका अध्यक्ष प्रह्लाद भट्टराई ,नगर शिक्षा समितिका सदस्य ज्ञान बहादुर पाण्डे , सुरक्षा निकायका प्रमुखहरूको आतिथ्यता रहेको थियो ।

हाल गुरुकुलमा कक्षा १२ सम्म आवासीय रूपमा अध्यापन हुँदै आएको छ । सनातन धर्म र संस्कृत भाषाको संरक्षण र उन्नयनका लागि स्थापित भएको गुरुकुलमा नेपाल र भारतका बटुक बिद्यार्थीहरु अध्यापन गर्दै आएको गुरुकुलका प्रधानाध्यापक जमुना दाहाल रेग्मीले बताइन् ।
भवन शिलान्यास कार्यक्रमको अवसरमा चतराधाममा सम्पन्न १२ बर्षे पूर्ण महाकुम्भ मेलामा विराटनगरबाट निःशुल्क रूपमा भक्तजनहरुकालागि यातायात ( बस ) को व्यवस्थापन गर्ने बस व्यवसायी विराटनगरका करिम अन्सारीलाई जगद गुरु पिठको तर्फबाट सम्मान गरिएको थियो ।