वराहक्षेत्र : सुनसरीको वराहक्षेत्रस्थित कोशी नदिमा फाल्गुन १९ गते मङ्गलवार २० औँ लादी अर्थात् कोशी पूजा आयोजना हुने भएको छ । 
वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित सिसौली तारघाट स्थित सप्तकोसी नदीमा माझी जातिको मौलिक तथा परम्परागत लदि अर्थात् कोशी पूजा मनाइने गर्दै आएका छन् । प्रत्येक वर्षको फाल्गुन महिनाको तेस्रो मङ्गलवार लदि अर्थात् कोशी पूजालाई मेलाको रूपमा मनाउँदै आए पनि यस वर्ष निर्वाचनको आचार संहिताका कारण मेला, महोत्सव नगरी धार्मिक , सांस्कृतिक तथा सामाजिक रूपमा मात्र मनाइने पत्रकार भेटघाट आयोजना गरेर आयोजक माझी उत्थान सङ्घ सुनसरीले जानकारी दिएको छ ।
आफ्नो जातीय माझीहरूको प्राचीन पेसा डुङ्गा नाउलाई संरक्षण र संवर्द्धन बारेमा सचेत गराउने उद्देश्यका साथ ढुङ्गा नाउ को संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले कोशी नदी पुजाको अवसरमा आयोजना गरिँदै आएको डुङ्गा (लाउ) रेस प्रतियोगिता पनि निर्वाचन पछि आयोजना गरिने नेपाल माझी उत्थान  सङ्घ सुनसरी अध्यक्ष धनश्याम माझिले जानकारी दिए ।
आदिवासी जनजातिमा सूचीकृत नेपालको सीमान्तकृत  जातिको रूपमा रहेका माझीहरू राष्ट्रिय जनगणना २०७८ अनुसार  १ लाख ११ हजार तीन सय ५२ जनसङ्ख्या रहेको छ ।
कोशी पूजाको अवसरमा फागुनको तेस्रो सोमवार दीपावली पूजा, मङ्गलवार लदि पूजा र बुधवार मझेस्वा गरी तिन दिन मनाइने प्रचलन गरेको छ ।  सप्तकोशी महारानीलाई सम्झेर सुनसरी, मोरङ, उदयपुर लगाएका क्षेत्रबाट माझी जातिहरू पूजा गर्न आउने गरेका छन् ।  कोशीको अलवा नदी, ताल, तलाउमा पनि पूजा गरी आफ्नो पुर्ख्यौली पेसा नाउँ चलाउँदा र माछा मार्दा कुनै भवितव्य नहोस् भनेर भाकल गरी मनाउने पञ्च वली भैँसी,सुँगुर,हास,कुखुरा र खसी दिइने प्रचलन रहेको नेपाल माझी उत्थान सङ्घ सुनसरी अध्यक्ष घनश्याम माझीले जानकारी दिए ।