नेपाल प्राकृतिक, सांस्कृतिक र धार्मिक दृष्टिले अत्यन्त समृद्ध मुलुक हो। पर्वतारोहणदेखि पदयात्रा, जंगल सफारी, जलयात्रा, योग-ध्यान, सांस्कृतिक भ्रमण, तीर्थयात्रा र विविध साहसिक गतिविधिसम्मका अवसरले नेपाललाई विश्वको प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ।

विश्वका अन्य धार्मिक केन्द्रहरूजस्तै भ्याटिकन सिटीमा वार्षिक करिब ६० लाख ख्रीष्टियन धर्मालम्बी र मक्का-मदिनामा करिब १८ लाख इस्लाम धर्मालम्बी हजका लागि पुग्ने गर्छन् । नेपालमा पनि तीर्थयात्रीहरूको आगमन क्रमशः बढ्दो छ। सन् २०२३ मा १ लाख ३२ हजार ९४९ जना र सन् २०२४ मा १ लाख ६६ हजार ३९४ जना विदेशी तीर्थयात्री नेपालका मठ, मन्दिर र गुम्बाहरूमा पुगेको तथ्यांकले देखाउँछ।

२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा १० प्रमुख धार्मिक समूह छन् : हिन्दु, बौद्ध, इस्लाम, ख्रीष्टियन, किरात, बोन, प्रकृति पूजक, जैन, शिख र बहाई। जनगणनामा “धर्म नमान्ने” वर्गको उल्लेख नदेखिनु नै नेपाली समाजको गहिरो धार्मिक आस्थाको प्रमाण हो।

पूर्वका प्रमुख धार्मिक स्थलहरू

पूर्वी नेपालमा असंख्य मठ, मन्दिर, गुम्बा र तीर्थस्थल रहेका छन्। ताप्लेजुङको प्रसिद्ध पाथीभरा देवी, तिम्बुङ पोखरी, पाँचथरको महागुरु फाल्गुनन्द मन्दिर, इलामको माईपोखरी, गुजुमुखी, झापाको अर्जुनधारा, मोरङको विराट राजदरबार, सुनसरीको बराहक्षेत्र, बुढासुब्बा, दन्तकाली, चताराधाम, धनकुटाको छिन्ताङदेवी, तेह्रथुमको मेयोङलुङ, भोजपुरको साल्पापोखरी, संखुवासभाको गुफापोखरी र शिवधारा, उदयपुरको रौता भगवती र चौदण्डी जालपा, ओखलढुंगाको कुन्तादेवी, खोटाङको हलेसी महादेव र सोलुखुम्बुको तेङबोचे गुम्बा यी मध्ये प्रमुख छन्।

अर्थतन्त्रमा योगदान

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयले २०७९ मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार ताप्लेजुङको पाथीभरा, इलामको सानो पाथीभरा, सुनसरीको बराहक्षेत्र र खोटाङको हलेसी महादेव तीर्थस्थलमा वार्षिक हजारौं तीर्थयात्री पुग्छन् ।

अध्ययनले देखाएको तथ्यांकअनुसार २५ प्रतिशत तीर्थयात्री व्यापारी, ४५ प्रतिशत नोकरी पेशामा, ७.५ प्रतिशत कृषिमा र २२.५ प्रतिशत अन्य क्षेत्रमा संलग्न छन् । उमेर समूहमा ३० वर्षभन्दा कम ३० प्रतिशत, ३०-४५ वर्षका ४० प्रतिशत, ४५-६० वर्षका १७.५ प्रतिशत र ६० वर्षमाथिका १२.५ प्रतिशत रहेका छन् ।

८० प्रतिशत तीर्थयात्रीहरू आस्था र भाकल पूरा गर्न, १० प्रतिशत मनोरञ्जनका लागि र बाँकी १० प्रतिशत विवाह, ब्रतबन्ध तथा पितृकार्यका लागि तीर्थस्थल पुग्ने गरेको पाइन्छ ।

पूर्वी नेपालको तीर्थ-पर्यटनले आन्तरिक पर्यटनलाई सशक्त बनाउन र राष्ट्रिय अर्थतन्त्रलाई बल पुर्‍याउन सक्ने सम्भावना स्पष्ट देखिन्छ। तर धेरै स्थल अझै प्रचार–प्रसारको अभावमा ओझेलमा छन्।

तसर्थ, स्थानीय निकाय, सरकार र समुदाय मिलेर यी तीर्थस्थलहरूको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनमा जोड दिन जरुरी छ : जसले नेपालको धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन सक्छ।