धरान : बिपी प्रतिष्ठानका चिकित्सक, नर्स, प्राविधिक र कर्मचारीहरूलाई त्यहाँ उपचारका लागि आउने बिरामी उनीहरूका कुरुवा आफन्तहरुसंग मर्यादित व्यवहारका लागि उत्प्रेरित गर्न उपकुलपति प्राडा.विक्रमप्रसाद श्रेष्ठले उच्च स्तरीय समिति गठन गरेका छन् ।
बिपीका प्रवक्ता प्राडा. शमशेर श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रतिष्ठानमा स्वास्थ्य उपचारका लागि आउने बिरामी र उनीहरूका कुरुवा वा आफन्तहरुसंग गरिने व्यवहारलाई अझ बढी मर्यादित र संवेदनशील बनाउन प्रतिष्ठानले विशेष पहलको रूपमा उपकुलपति प्राडा. श्रेष्ठले समिति गठन गरेको जनाइएको छ ।
मनोचिकित्सक विभागका प्राडा. वैकुण्ठराज अधिकारीको संयोजकत्वमा ६ सदस्यीय ‘बिरामी प्रति पेशागत व्यवहार उत्प्रेरणा समिति’ गठन गरिएको हो ।
समितिका सदस्यहरूमा स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. विजय खनाल, अर्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर डा. जमल गिरी, मनोचिकित्सक विभागका एसिस्टेन्ट प्रोफेसर डा. सुरेन लिम्बू, बायोकेमिष्ट्री विभागका एसिस्टेन्ट प्रोफेसर डा. वसन्त गेलाल तथा अस्पताल प्रशासनकी डा. श्वेता झा छन् ।
प्रतिष्ठानमा दैनिक हजारौँ उपचारका लागि आउने बिरामीहरूसँग गरिने कुराकानी, छलफललाई अझै प्रभावकारी र सेवामैत्री बनाउन यो कदम चालिएको विज्ञप्तिमा उल्लेख छ ।
समितिले प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, पारामेडिक्स र प्रशासनिक कर्मचारीहरूलाई लक्षित गरी विभिन्न उत्प्रेरणादायी तालिमहरू सञ्चालन गर्न सुरु गरेका छ ।
तालिममा हालसम्म ७८ जना हेल्थ एड तहका कर्मचारीले तालिम प्राप्त गरिसकेको बताइएको छ । प्रतिष्ठानका हेल्परहरु, बिरामीको प्रत्यक्ष सम्पर्कमा आउन सक्ने प्रशासनिक कर्मचारी, पारामेडिक्स, प्राविधिक कर्मचारी, नर्सिङ कर्मचारी तथा चिकित्सकहरूलाई उक्त तालिम प्रदान गरिने बताइएको छ ।
तालिममा बिरामीसँग बोल्दा प्रयोग गरिने भाषा र हाउभाउलाई अझ बढी नरम र व्यावसायिक कसरी बनाउने सिकाइने छ । उपचारको प्रक्रिया र परामर्श दिँदा बिरामीले सजिलै बुझ्ने गरी कसरी कुराकानी गर्ने विषयमा पनि छलफल गरिने छ ।
बिरामीको पीडालाई बुझेर उनीहरूलाई मानसिक रूपमा सकारात्मक ऊर्जा प्रदान गर्न कसरी मनोवैज्ञानिक सहयोग गर्ने विषयहरूमा पनि उत्प्रेरणा समितिले प्रस्तुतीकरणका माध्यमबाट, सम्भाषणका माध्यमबाट तालिम दिने गरेको विज्ञप्तिमा उल्लेख छ ।