धरान : नेपाली काँग्रेसको लागी रुखो क्षेत्र मानिएको सुनसरी १ मा यस पटक अभूतपूर्व एकता देखिएको छ । विशेष महाधिवेशनको कारण स्पष्ट दुईधार देखिएको काँग्रेस निर्वाचनको अभियानमा भने बलियो एकताका साथ अगाडी बढेको हो । वामपन्थीको किल्ला मानिएको सुनसरी १ मा वामपन्थी भित्रै अनेक समूह भएपछि काँग्रेसलाई अवसर मिल्ने देखिन्छ ।

वामपन्थी दलबाट नेकपा एमालेका उम्मेदवार टिकाराम लिम्बु (माङ्ले) सँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मनोज भट्टराई चुनावी मैदानमा छन् । भट्टराई र लिम्बुमा वामपन्थी मत विभाजन हुने आकलन गरिएको छ । अर्कातर्फ श्रम संस्कृति पार्टीबाट धरानका निवर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोमा तामाङ (सरिन) चुनावी मैदानमा छन् ।

साम्पाङले धरानमा श्रम अभियान चलाएर खानेपानी ल्याएको भन्दै मत मागिरहेका छन् । तर मेयरको कार्यकाल पुरा नगरी उम्मेदवार भएको देखि खानेपानीको उचित प्रबन्ध मिलाउन नसकी सामाजिक सञ्जालमा प्रचारमात्र गरेको उनीमाथि आरोप छ । श्रम अभियानको हिसाबकिताब सार्वजनिक नगरेको र उपभोक्ता समितिको काममा अनियमितता गरेको दोष साम्पाङलाई लागेको छ ।

यसअघि रास्वपाबाट उम्मेदवारी दिएकी सरिनले नेकपा एमाले र जनता समाजवादी (जसपा)का उम्मेदवार अशोक राईलाई टक्कर दिएकी थिइन् । तर सरिन र साम्पाङले पाउने मतको प्रकृति एउटै भएकाले दुवै उम्मेदवार सङ्कटमा छन् ।

सरिन र हर्कको मत विभाजन हुँदा फाइदामा ठुला दलहरू छन् । एमाले भित्र देशव्यापी विरोधको लहर चलिरहेको र नेकपाको बलियो साङ्गठनिक प्रभाव नभएकाले काँग्रेसलाई फाइदा पुग्ने आकलन गरिएको छ । सुनसरी १ मा मतदाताको हिसाबमा नेकपा कमजोर स्थितिमा रहेको बुझाइमा रहेको काँग्रेसले आन्तरिक तयारी गरिरहेको छ । आफ्नो मतलाई सुरक्षित गर्नसके निर्वाचन परिणाम हात पार्न सकिने बुझाइमा काँग्रेस नेताहरू छन् ।

सुनसरी १ मा निर्वाचन कमान्डर समेत रहेका कोसी प्रदेश महामन्त्री उमेश थापा यस पटक इतिहास रच्ने बताउँछन् । काँग्रेस भित्र बलियो एकता रहेको र अन्य दलको जनाधार कमजोर बन्दै गएको कारण निर्वाचन काँग्रेसको पक्षमा आउने उनको बुझाइ छ ।

निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडा समेत काँग्रेस भित्रको एकताले निर्वाचन परिणाम सकारात्मक हुने दाबी गर्छिन् । काँग्रेसले नयाँ, इमानदार र सबल उम्मेदवार उठाएको कारणले मतदाताको विश्वास आर्जन गरिरहेको उनको भनाइ छ ।

सुनसरी १ मा धरान उपमहानगरपालिकाका सम्पूर्ण २० वटै वडा, रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा र वराहक्षेत्र नगरपालिकाका १ देखि ५ नम्बर वडा पर्छन् । एकलाख ५० हजार ३९३ मतदाता रहेको सुनसरी १ मा  काँग्रेसले आन्तरिक एकतालाई मजबुत बनाउँदै निर्वाचन परिणाम हात पार्ने रणनीति बनाएको हो । अघिल्ला निर्वाचनमा गठबन्धनको कारण रुखमा मतदान गर्न नपाएका काँग्रेस कार्यकर्ताहरू पनि यस पटक उत्साहित भएका छन् ।

यसअघि २०७६ सालमा धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका तिलक राईले २६ हजार ७०९ मत सहित विजयी भएको थिए । त्यस बेला एमालेका प्रकाश राईले जम्मा २३ हजार ९२४ मत पाएका थिए । सोही आधारमा अन्य पालिकामा पनि मत बढाउँदै लैजाने पक्षमा रहेका काँग्रेस कार्यकर्ताहरू निर्वाचन परिणाम आफ्नो पक्षमा आउने दाबी गरिरहेका छन् ।