धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्राडा. विक्रमप्रसाद श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै ‘एक वर्ष भित्रमा प्रतिष्ठानमा परिवर्तन देखिने काम गरेर देखाउने’ प्रतिबद्धता जनाएका छन् ।
उनले आज शुक्रवार दिउसो उपकुलपतिको कार्यकक्षमा पदभार ग्रहण गरेका हुन । उक्त अवसरमा स्वागत बधाई ज्ञापन गर्न पुगेकाहरू सामु प्राडा.श्रेष्ठले भने ‘प्रतिष्ठानमा एक वर्ष भित्रमा महसुस हुने गरी परिवर्तन गरेर देखाउने छु ।’
नवनियुक्त उपकुलपति श्रेष्ठले प्रतिष्ठानमा सुधार र परिवर्तन ल्याउन प्रतिष्ठानका पदाधिकारी सहित सबैको संयुक्त प्रयास जरुरी भएको औँल्याउँदै भने ‘विगतका उपकुलपतिहरूले म भनेर काम गर्ने गरेका थिए अब म होइन हामी भएर काम गर्नेछु ।’
प्रतिष्ठानका पदाधिकारीहरू, फ्याकल्टीहरू सँग बसेर समस्याको एक/एक गर्दै समाधान खोजिने उनले बताए । आफ्नो नियुक्तिप्रति धरान बासी र प्रतिष्ठानका सहकर्मीहरू खुशी रहेको बताउँदै त्यो खुसीलाई कायम राख्ने आफ्नो पहिलो कर्तव्य हुने उनको भनाई थियो ।
प्राडा. श्रेष्ठ आर्थिक चलखेलमा काँग्रेसको शेरबहादुर देउवाको कोटाबाट उपकुलपति भएको मिडिया र सामाजिक सञ्जालमा आएको कुरा कपोलकल्पित भएको बताए । उनले भने ‘नेपाली काँग्रेसका सभापति ज्युले पनि केही भन्नु भएन, भाउजूले पनि केही भन्नु भएन ।’
‘चलखेल नहुने म जस्तो मान्छे हुनुपर्छ’ उनको भनाई थियो । पदभार ग्रहणको अवसरमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. संजिब शर्मा, रजिस्ट्रार प्राडा.सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक जयन्तप्रसाद, कोशी प्रदेश सभा सदस्य यशोदा कायस्थ लगायत उपस्थित थिए ।
मितेरी डेभलपमेन्ट बैङ्कका अध्यक्ष किशन मास्के, उद्योग वाणिज्य सङ्घका पुर्वअध्यक्ष विजय श्रेष्ठ विभागीय प्रमुखहरू, कर्मचारीहरूले उपकुलपतिलाई स्वागत गरेका थिए । प्राडा. श्रेष्ठ श्रावण २७ गते प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपकुलपतिमा नियुक्त भएका हुन ।