४१ वटा ट्याङ्करले नपुगेर जिप, मारुतीमा पनि पानीको व्यापार  

धरान : धरानका घरको धारामा पानी आउन प्रायः बन्द भएको छ । कुनै ठाउँमा पानी आइहाले मोटरले नतानी हुन्न । त्यो पनि आधा घण्टा बढी आउँदैन ।

खानेपानीको महाहाहाकारमा ट्याङ्करमा पानी किनेर खान पनि ट्याङ्करकै समेत हाहाकार हुन थालेको छ । ट्याङ्कर व्यवसायी घनश्याम बुढाथोकी अनुसार अहिले धरान ४१ वटा प्रत्येक ट्याङ्करले दिनभरिमा ५ देखी ७ पटक पानी ओसार्ने काम गर्दैछन ।

उनले भने ‘तर ट्याङ्करले माग अनुसार पानी पुर्‍याउन सकिरहेको छैन ।’ ट्याङ्करको विकल्पमा अहिले खुला जिप गाडीमा ट्याङ्की र मोटर राखेर पानीको व्यापार गर्न थालिएको छ । थोरै पानीले काम चलाउने परिवारका लागि अहिले मारुती भ्यानमा ५०० लिटर क्षमताको ट्याङ्की राखेर पनि पानी विक्री भइरहेको छ ।

उनका अनुसार टेम्पुहरू पनि पानी ओसार्ने काममा लागेका छन् । धरानका पुराना पँधेराहरूमा अहिले पानी थाप्नेहरूको भिडभाड छ । रङ्गका बाल्टिन, डब्बा देखी कोकका जम्बो, मिनिरल वाटरका बोतल सम्ममा मानिसहरू पानी थापेर ओसारी रहेका छन् । 

ट्याङ्करकालागी ३ दिन सम्म पर्खनु पर्छ  :

बिहान ५ बजे देखि आँखा मिच्दै हिँडेका ट्याङ्कर बेलुका ८ बजे सम्म पानी बोक्दै धराने जनताको सेवामा खटिरहेका छन् तर पनि धरानमा पानीको माग पुरा नभइरहेका उनले बताए ।

बुढाथोकी अनुसार ट्याङ्करहरूले मात्र लगभग दैनिक २४० पटकमा ७ लाख २० हजार लिटर पानी धरान ल्याउने गरेका छन् । उनले भने ‘ट्याङ्करको पानी दिन नसक्दा गाली खानु परेको अवस्था छ ।’

यस्तो सङ्कटको बेला टयाङकरले पानी उपलब्ध गराउने पानीको धरान उपमहानगरपालिकाका र खानेपानी बोर्डले भने यस्तो हाहाकारमा कुनै भूमिका निर्वाह नगरेको उनको भनाई छ । बुढाथोकीले भने ‘सबैले पानी किनेर खान सक्दैनन् गरिब जनतालाई बोर्डले पानी उपलब्ध गराउनु पर्ने हो ।’

पानीपियादेखी बोरिङ गरेर ट्याङ्करमा ल्याएको पनि लगभग प्रतिलिटर १ रुपैयाँमा उपभोक्ताले किनिरहेको उनको भनाई छ । ट्याङ्करले पानीपियामै ३ हजार लिटरको २ सय, ७ हजार लिटरको ५ सयमा महसुल बुझाउनु पर्ने उनले बताए ।

पानी ल्याउने ठाउँमा पनि ट्याङ्करको ताँती लागेको छ । बुढाथोकीले भने ‘लामै ताँती लागेर पानी ट्याङ्कर हिँडे पनि पानीको पालो आउन २ देखि ३ दिन लाग्न सक्छ ।’

होटलहरुको हालत :

ट्याङ्करले भनेको बेलामा पानी नल्याउँदा सबै भन्दा ठुलो सङ्कट धरानका होटलहरुलाई परेको होटेल एसोसिएसन धरान अध्यक्ष सरोज भट्टराईले बताए ।

उनले भने ‘नुहाउन, लुगा धुन, भाँडा माझ्न पनि जारको पानी चलाउनु पर्ने अवस्था आएको छ ।’ होटेलमा मान्छे आउँछन् पानी छैन भन्दै पठाउनु परेको उनले बताए । कतिपय होटेल पानी नभएरै बन्द गरिएको छ ।

अध्यक्ष भट्टराईको होटेल भएको चतरा लाइनमा गत ३ महिना देखि धारामा पानी नआउँदा स्थानियबासीले ट्याङ्करको पानी किनेर काम चलाउँदै आएको उनले सुनाए ।

उनले भने ‘ट्याङ्करवालाले पनि मनपरी पैसा माग्छन् ।’ चैत्र ५ गते वडामा पानी नआएको गुनासो लिएर डलिगेशन जाँदा मेयर हर्क साम्पाङले उल्टै प्लम्बरलाई कुट्यो भनी प्रहरीमा निवेदन लगाएको सम्झँदै भने ‘पानी आएन, ट्याङ्करले पनि पानी दिएन भन्नु पनि खतरा छ ।’

बोर्ड निर्देशक राजु पोखरेलको भनाई :

खानेपानी बोर्ड निर्देशक राजु पोख्रेलले धरानमा कति ट्याङ्कर व्यवसायी छन् भनी बोर्डसँग डाटा नभएको बताए । उनका अनुसार खोलाको पानी सुकेको छ । जमिनमुनिको मात्र पानीको भर रहेको, जमिनमुनिको पानी उत्पादन कति हुन्छ यकिन थाहा छैन ।

खानेपानी बोर्डको ट्याङ्कर एउटा मात्र छ । २ वटा ट्याङ्कर भाडामा गरी ३ वटा ट्याङ्करले दिनमा ५ पटक सम्म जनतालाई पानी वितरण गरिरहेको छ । उनका अनुसार ट्याङ्करले समानुपातिक रूपमा जहाँ अभाव छ त्यस ठाउँलाई प्राथमिकता दिएको छ ।

सुकुम्वासी बस्तीका जनताको भनाई 

धरान-११ नगरकोटकी सविता हायुले भनिन् ‘खानेपानी बोर्डले सङ्कटको बेला सुकुम्वासी बस्तीमा पानी वितरण गरेको छैन ।’ उनका अनुसार बोर्डले पानी नदिए पछि बस्ती गरिब जनताहरू मिलेर ट्याङ्करको महँगो पानी किनेर खानु परेको छ ।

उनले भनिन् ‘दुई छाक भात खानु समस्या भएको सुकुम्वासीले पानीको लागि पैसा खर्च गर्नु विडम्बना बनेको छ ।’ विष्णु चोक देखि ३ घण्टा पालोमा बसेर डोकोमा बोकेर पानी ल्याउनु पर्ने उनीहरू बिहान ४ बजे उठेर पानी लिन गएको ७ बजे आइपुग्ने उनले बताइन् ।

डाँडासम्म ट्याङ्कर आए पनि सुकुम्वासी बस्ती भनेर अहिले सम्म एक पटक पनि बस्तीमा बोर्डको ट्याङ्कर नआएको उनले बताइन् । 

जमेको पानी ट्याङ्करमा :

धरानको जङ्गलमा १३ वटा जमिन मुनीको पानी तान्ने वेल छ । कतिपयको कमप्रेसर, हेम्बर, लिकेज पाइप र गेटबल बिग्रेकाले पानी ओभर फ्लो भएर पानी बगिरहेको छ । ओभर फलो भई बगेको पानी छेउमा पोखरी समेत बनेको छ ।

त्यसरी जमेको पानी निर्माण कार्यको लागि भनेर दैनिक १० देखि १५ वटा ट्याङ्करले धरान ल्याउने गरेको छ । सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य जयप्रकाश शर्माले भने ‘ट्याङ्करबाट घर घरमा आउने पानी त्यही जमेको फोहोर पानी त होइन ख्याल गर्नु पर्ने बेला भएको छ ।’