धरान : जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव-निर्मित भवनको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले उद्घाटन गरेका छन् ।
सोमवार बिहान पौने ९ बजे आयोजित एक कार्यक्रम बिच जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नव–निर्मित कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको मन्त्री कार्कीबाट समुद्घाटन भएको हो । समुद्घाटनको क्रममा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सरकारले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न आत्मबल बढ्ने हुँदा सुरक्षाकर्मीहरूको गाँस, बास र कपासमा ध्यान दिनु सरकारको दायित्व रहेको बताए । कार्यक्रममा मन्त्री कार्कीले जग्गा दाता तथा निर्माण कार्यमा सहयोग पुर्याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्रद्वारा सम्मान गरे ।
कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले भवनको निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिनुका साथै २४ सै घण्टा ड्युटीमा खटिनु पर्ने प्रहरी कर्मचारीहरूलाई नयाँ भौतिक सुविधाले थप मनोबल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना गर्ने बताउँदै सुविधा सम्पन्न भवन प्राप्त भए सँगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढङ्गले प्रहरी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । कानुनको परिधिमा रही जनहित अनुसारको प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुव कुमार सिवाकोटी, १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव काली प्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, चारआली स्थित नेपाली सेनाको श्री नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणीन्द्र थापा, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, विभिन्न कार्यालय, सङ्घ संस्थाका प्रतिनिधि, राजनैतिक दलका नेता तथा पार्टी प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।
१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट एक करोड ८८ लाख ८५ हजार ५७७ रुपैयाँ ९८ पैसाको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड, झापाको परिसरमा नव-निर्मित कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण सम्पन्न भएको हो ।


































































