धरान : सुनसरी प्रहरीले मानव तस्करमा संलग्न रहेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार काठमाडौँ जिल्लाको
शंखरापुरा नगरपालिका बडा नं. ४ लप्सेफेदी बस्ने वर्ष २० की एक युवतीलाई ललाई फकाई गरी भारतीय बजारमा लिएर जाने क्रममा सीमा प्रहरी चौकी भन्टावारिको टोलीले चेकिङका क्रममा सीमा पार गराउन लागेको अवस्थामा भारत विहार राज्य सुपौल जिल्ला छिटही हनुमाननगर गोपालपुर वडा नं. ५ बस्ने वर्ष ३२ को मोहम्मद फिरोजलाई पक्राउ गरी मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ बमोजिम दिन ७ (सात) म्याद लिई प्रक्रिया बढाइएको छ ।
फिरोज काठमाण्डौमा घर बनाउने ठेक्का लिई काम गर्ने गरेको र पीडितको घर पनि ठेक्कामा बनाउँदा बोलचाल, चिनजान भएको थियो । सोही क्रममा फिरोजले पडितलाई मन पराउने र विवाह गर्ने प्रस्ताव राखी विभिन्न प्रलोभन पारेर बिहेको कपडा किन्ने निहुँ बनाइ लिएर आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
फागुन २५ गते राती भान्टावारी नारायणी होटलमा राखी करणी समेत गरेको भनी पीडितबाट जाहेरी प्राप्त भएको हुँदा जबरजस्ती करणी शीर्षकमा समेत अनुसन्धानका लागी आवश्यक प्रक्रिया प्रहरीले अगाडी बढाएको छ ।
फागुन २६ गते बिहान, नेपाल वाट भारत तर्फ जान लागेका उनीहरू माथि शङ्का लागी सीमामा रहेको नेपाल प्रहरी र कोकन नेपालको टोलीले पक्राउ गरी आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको प्रहरीले जनाएको छ ।


































































