धरान : सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा प्रदेश १ स्तरीय औद्योगीक व्यापार मेला धरानमा हुने भएको छ ।
पब्लिक माविको खेल मैदानमा हुने व्यापार मेला आउदो फागुन १५ देखी २४ गतेसम्म (१० दिन) सञ्चालन हुने भएको हो । संघले सोमबार पत्रकार सम्मेलन गदै मेलामा करिब १ सय बढी स्टल रहने उवासंघका प्रथम उपाध्यक्ष एबंम मेला संयोजक शिबराज श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार मेलामा हस्तकला, बैज्ञानिक कृषि पद्धती, स्थानीय स्रोत साधनबाट उत्पादीत बस्तुहरुको प्रदर्शनी तथा विक्री कक्ष राखिने बताए । स्थानीय स्तरमा उत्पादीत बस्तुको प्रबद्र्धन तथा बजारिकरण गर्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको मेलामा भारत, पाकिस्तान र बंगलादेशमा उत्पादीत बस्तुहरु समेत मेलामा उपलब्ध हुने उनको भनाई छ । ‘स्थानीय उत्पादनलाई प्रबद्र्धन तथा बजारिकरण गर्नुपर्छ भन्ने उद्देश्य हो, सकेसम्म धेरै भन्दा धेरै कृषिजन्य बस्तुहरु मेलामा ल्याउन सम्पर्क भइरहेको छ’ मेला संयोजक श्रेष्ठले भने ‘छिमेकी मुलक पाकिस्तान, बंगलादेश र भारतमा उत्पादीत बस्तुहरु समेत मेलामा राखिने छ, पाकिस्तानबाट लेदरको ज्याकेट, पेटी, जुत्ता, किचनका सामग्री ल्याइसकेका छौं ।’ उनले थपे ‘बंगलादेशसंग सुतिका कपडाको आइटम छ त्यो ल्याउनको लागि प्रयासरत छौं ।’ भारतमा निर्मित विभिन्न ब्राण्ड तथा मोडेलका सवारी साधन कम्पनीका स्टल समेत रहनेछ ।
मेलामा भिरमौरीको महको स्टल समेत मुख्य आकर्षणको रुपमा राखिने भएको छ । मेलामा उपभोक्ताहरुको लागि दैनिक उपभोग्य बस्तुहरु, औधोगिक सामग्रीहरु, कृषिजन्य सामग्रीहरु सुपथ मुल्यमा उपलब्ध गराउने संयोजक श्रेष्ठले बताए ।
‘उपभोक्ताहरुको लागि दैनिक उपभोग्य बस्तुहरु विभिन्न कृषिजन्य सामग्रीहरु बजार भन्दा सुलभ मुल्यमा उपलब्ध गराउँछौं’ उनले भने ‘त्यसको लागि व्यावसायिहरुलाई हामीले अनुरोध गर्ने छौं, बाहिर भन्दा चर्को मुल्य हुनुभएन त्यो हाम्रो मुख्य ध्येय हो ।’
मेला अवधिभर करिब ५ करोडको कारोबार गर्ने र ५ लाख दर्शकले प्रत्यक्ष मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । मेलामा खानाका ५ वटा मात्र स्टल राख्ने योजना रहेपनि व्यावसायिहरु बढ्न सक्ने भएकोले १० वटासम्म पुग्न सक्ने बताए ।
यस्तै, नेपाल जुत्ता उद्योगको स्टल समेत रहने छ । दुग्ध संस्थानलाई निःशुल्क स्टल उपलब्ध गराएको र संस्थानमा नै पाइने रेटमा मेलामा उपलब्ध गराउने सहमती भएको बताए । यस्तै, मेलामा प्रति स्टल १० हजारदेखी ५० हजारसम्म भाडा तोकिएको आयोजकले जनाएको छ । फुड स्टलका लागि ५० हजार, अटोमोवाइल्सका लागि ४० हजार तोकिएको छ । यस्तै, कृषि, घरेलु, कुटी र जडिबुटीको स्टलका लागि प्रति स्टल १० हजार रुपैयाँ तोकिएको छ । ‘हामीले फुड स्टलका लागि ५० हजार तोकेका छौं, पहिला भन्दा व्यावस्थित तरीकाले बस्ने कुर्सि, टेवलको व्यावस्था गरिदिन्छौं’ संयोजक श्रेष्ठले भने ‘अटोमावाइल्सको लागि धेरै स्पेश चाहिने हुनाले स्टलको ४० हजार तोकेका हौं, यस्तै, कृषि, घरेलु, कुटी, जडिबुटीलाई १० हजार तोकेकका छौं कतिपयलाई निःशुल्क समेत व्यावस्था गर्नुपर्ला ।’
मेलामा धरान आसापासका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार गर्ने उद्देश्यले विभिन्न ‘टुर प्याकेज’ समेत राखिएको र पर्यटन सम्बन्धि तालिमको व्यावस्था समेत रहेको जनाइएको छ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरको प्रस्तुति रहने जनाइयो । मेलामा अवलोकनको लागि प्रबेश शुल्क प्रति व्याक्ति ५० रुपैयाँ तोकिएको छ । जसमा विद्यार्थीका लागि भने ३० रुपैयाँ तोकिएको छ । तर, विहान १० बजेदेखी ४ बजेसम्म अवलोकनका लागि निःशुल्क रहने छ । ४ बजेदेखी राती ९ बजेसम्मका लागि मात्र शुल्क लाग्ने छ । मेला आयोजनको लागि करिब ३५ लाखको अनुमानित खर्च विवरण पेश गरिएको छ ।
धरान नगर स्तरीय एकल नृत्य प्रतियोगिता
मेलामा नगरस्तरीय एकल नृत्य प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।
प्रतियोगितामा नगर भरिका विद्यालयहरुले सहभागीता जनाउन पाउने मेला संयोजक श्रेष्ठले बताए । प्रतियोगितामा लोकभाकामा नृत्य प्रस्तुत गर्नुपर्नेछ । प्रतियोगिताको प्रथमले नगद ५० हजार, दोस्रोले नगद २५ हजार ५ सय ५१ रुपैयाँ र तेस्रोले १० हजार ५ सय ५१ रुपैयाँ हात पार्नेछ ।


































































