औजार : आजको औजार दैनिकमा “आलु उत्पादन व्यवसायिक भएन” शीर्षकको समाचार छापिएको छ । पाँचथर जिल्लाका उच्च पहाडी क्षेत्रका मुख्य गरेर उत्पादन हुने आलु उत्पादनको सम्भावना धेरै भएपनि पर्याप्त लगानी हुन नसक्दा व्यवसायिक छैन । दैनिक खाद्यान्नकै रुपमा प्रयोग हुने क्षेत्रमा निर्वाहका लागि रोपिने बाहेक आम्दानीको हिसाबमा कसैले पनि ठूलो परिणाममा लगाएको छैन । घरायसी सिप प्रयोग गरेर सामान्य उत्पादन गर्ने र बजार पुर्याउने बाहेक आम्दानीनै हुने गरी खेति हुन नसकेको हो । सामान्य तवरले घरायसी प्रविधिको प्रयोग गरेर पनि मनग्गै उत्पादन हुने आलु आधुनिक व्यवसायिक प्रविधिको प्रयोग गर्न सके अरु उत्पादन हुने कृषि जानकारहरु बताउँछन् । आलुको व्यवसायीकतामा कसैको पनि धयान जान सकिरहेको छैन । परम्परादेखी जसरी खेति हुँदै आएको छ त्यसैले निरन्तरता अनुसार अहिले फिदिमको लालिखर्क, लुङरुपा, चोकमागू, शिवा, फालेलुङको सिदिन क्षेत्र, फाल्गुनन्द गाउँपालिकाको केही क्षेत्र, हिलिहाङ, याङवरकको च्याङथापु फलैचाँ क्षेत्रमा उत्पादन हुने गरेको छ ।
ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “पीडितलाई नै माफी मगायो प्रहरीले” शीर्षकको समाचार छापिएको छ । झापाको घैलाडुब्बामा प्रहरीले पीडितलाई नै माफी मगाएर कागज गराएको छ । राति आफ्नै घरबाट बेपत्ता भई घाँटी तथा शरीरमा निलडामसहित बेहोस् अवस्थामा फेला परेकी बाह्रदर्शी ७ की गोमादेवी गौतमलाई पीडाकै अवस्थामा प्रहरीले माफी मगाएर थप पीडा दिएको हो । साउन ३० गते बेलुका खाना खाएर ९ र ५ वर्षका दुईजना छोरासँगै सुतेकी गौतम ३१ ग्ते विहान ८ बजे घाँटी तथा शरीरमा निलडामसहित बेहोस अवस्थामा घरभन्दा ३ किलोमिटर टाढा फेला परेकी थिइन् । गौतमका श्रीमान् वैदेशिक रोजगारमा कतारमा छन् । “बेलुका खाना खाएर घरमा सुतेकी हुँ, के भयो भन्ने केही थाहाँ छैन” पीडित गौतमले भनिन्, “पछि होस खुल्दा विर्तामोडको वीएण्डसी अस्पतालमा थिए ।” “३० गते दिउँसो स्थानीय निरुता चापागाईसँग फोनमा विवाद भएको थियो” गौतमले भनिन्, “म अस्पतालबाट निस्कनासाथ प्रहरीमा लगेर माफी मगाए, मेरो कुरा कसैले सुनिदिएन ।” उनी र चापागाईबीच भएको विवादका क्रममा उनले अपशब्द बोलेको भन्दै माफी मगाइएको एकजना स्थानीयले बताए ।
नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “इलाममा अज्ञात रोगले परेवा मरेपछि त्रास” शीर्षकको समाचार छापिएको छ । इलाम बजारको शोभाका रुपमा लिइने परेवा भकाभक मर्न थालेपछि कुनै सरुवा रोगको हुनसक्ने आशंकाले त्रास बढेको छ । महिनादिनयता बजारनजिकै माइस्थान मन्दिरमा रहेका परेवा पालैपालो मरिरहेपनि रोग पत्ता नलाग्दा घरमा पालिएका कुखुरालगायत पन्छीमा समेत सर्ने डर भएको हो । सुरुमा झोक्राउने, चारो नखाने र केही समयपछि मर्ने लक्षण परेवामा देखिएको । स्थानीयका अनुसार झोक्राएका प्रत्येक परेवामा १५–२० वटासम्म झिँगासमेत पाइने गरेको छ । कुनै परेवाले चारो र पानी खानेवित्तिकै बान्तासमेत गर्ने गरेको स्थानीय सञ्जिव भट्टराईले बताए ।
उद्घोष : आजको उद्घोष दैनिकमा “सडकका कारण टेलिफोन उपभोक्ता पीडित” शीर्षकको समाचार छापिएको छ । विराटनगरको देवकोटा चोक नजिकै बसोबास गर्ने इन्दिरा शर्मा आफ्नो टेलिफोन ४४२६९५ नम्बर एक सातादेखि नचलेको गुनासो गर्न सोमबार नेपाल टेलिकमको विराटनगर कार्यालय का प्रमुख घनश्याम महासेठको कार्यकक्षमा पुगेकी थिइन् । सोही समयमा त्यँही आसपासका अर्का ग्राहक दिपककुमार भट्टराई पनि आफ्नो ४४२८५२ नम्बरको फोन नचलेको गुनासो गर्न पुगेका थिए । विराटनगरको टेलिफोनका उपभोक्ताहरुको अहिले प्राय यही गुनासो छ । धेरैका टेलिफोन लाइन सुचारु छैनन् । सडक तथा नाला निर्माणको काम गर्दा ठेकेदार तथा उसका कन्ट्रयाक्टर र सब–कन्ट्रयाक्टरहरुले धेरै ठाउँको क्याविनेट भत्काउनुका साथै तार चुँडाइदिएकोले निर्वाध रुपमा टेलिफोन लाइन चल्न नसकेको हो ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































