धरान : जेनजीको नाममा भदौ २४ गते धरानमा भएको तोडफोड, आगजनी र लुटपाटका घट्नामा पीडित थप ७ जनाले आज बिहीबार इलाका प्रहरी कार्यालयमा संलग्न व्यक्तिहरूको नाम किटान गरी जाहेरी दिएका छन् ।
जाहेरी दिनेहरूमा धरानकी निवर्तमान उपमेयर एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारी, एमाले नेता मुरारी सुवेदी, पुर्वसांसद जयकुमार राई, कार्यपालिका सदस्य सिर्जना नेपाल, नेपाली काँग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, काँग्रेस सुनसरी क्षेत्र १ का सभापति सुजेन्द्र गोले तामाङ र निवर्तमान उपमेयर भण्डारीको घरमा डेरा गरी बस्ने सुनिता पोखरेल हुन ।
यसअघि होटेल कञ्जनजंघामा भएको तोडफोड, लुटपाट र आगजनीको घट्नामा संलग्न १३ जनाको नाम किटान गरी सञ्चालक तथा धरानका पूर्व मेयर मनोजकुमार मेन्याङबोले मङ्गलावर इलाका प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।
आज दिएको जाहेरीमा किटान गरिएका घट्नामा संलग्न व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन । ७ जनाको जाहेरीमा यसअघि दिएको जाहेरीमा परेका १३ जनाको नाम सहित अन्य नामहरू पनि उल्लेख भएको बताइएको छ ।
प्रहरी नियन्त्रणमा ५ जना
कञ्चनजङ्घा होटेलमा आक्रमण गरी तोडफोड, आगजनी, लुटपाट गर्नेहरू मध्ये ५ जना प्रहरीको नियन्त्रण रहेको इलाका प्रहरीले जनाएको छ ।
त्यस मध्ये २ जना आत्मसमर्पण गर्न आएपछि प्रहरीलाई जिम्मा लगाइएको थियो । होटेलमा ६ लाख रुपैयाँ नगद समेत लुटिएको छ ।
डिएसपी प्रकाश जवेगुले जाहेरी दिन पुगेका नेताहरूलाई अन्यत्र भएको घटना भन्दा धरानको घटना फरक भएकाले धरानलाई बेग्लै प्राथमिकता दिएर घट्नामाथि अनुसन्धान भै रहेको बताए ।
उनले भने ‘ढिलो छिटो सबैलाई कारबाही हुन्छ ढुक्क हुनुस् ।’
उनले जाहेरी दर्ता गरी अनुसन्धानको सबै प्रक्रिया मिलाएर कारबाही सुरु गरिने बताए । धरानबाट सरुवा हुने सूचिमा रहेका डिएसपी जेवगुले भने ‘म सबै प्रक्रिया मिलाएर जान्छु पछि अर्को डिएसपी आएपनी कारबाही हुन्छ ।’
नगर प्रमुख बचाउमा
जाहेरी दिन काँग्रेस, एमाले नेता,कार्यकर्ताहरूसहित ठुलो सङ्ख्यामा इलाका प्रहरी कार्यालय पुगेका थिए । काँग्रेस महामन्त्री थापाले अराजकता नियन्त्रण दोषीलाई कार्वाहि गर्न स्थानीय सरकारले पीडितहरूलाई आड भरोसा दिनुपर्नेमा नगर प्रमुख हर्क साम्पाङले आपराधिक कार्य गर्नेहरूको बचाउमा उल्टै धम्कीपूर्ण अभिव्यक्ति दिएको बताए ।
थापाले भने ‘नगर प्रमुख साम्पाङ सँग हिँडेका सबै सज्जन र विद्धान छैनन् खराब छ भने प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्नेमा खबरदार भनेर धम्की दिइरहनुभएको छ ।’ यो स्थितिले धराने जनताले राज्यविहीन, सरकार विहीन भएको अनुभव गर्नु परेको उनको भनाई छ ।
थापाले भने ‘यो कुरामा डटेर राज्यले सरकार छ भन्ने महसुस गराउनुपर्छ ।’
उनको घरमा भएको तोडफोड र लुटपाट गर्न आएका व्यक्तिहरूको पहिचान हुने गरी विभिन्न भिडियो फुटेज, फोटोहरू संङ्कल गरेर पेन ड्राइभमा इलाका प्रहरीलाई बुझाएका छन् ।
धरान उपमहानगरपालिकाकी निवर्तमान उपमेयर भण्डारीले पत्रकारहरूसँग धरानमा भएको घटना नगर प्रमुखकै नजिकका मान्छेहरूले घटाएको बताइन् । पार्टीकै कार्यकर्ता हुन कि श्रमदाता जो सुकै कारबाही हुनु पर्छ । उनले भनिन् ‘श्रमदाता हुन कि को हुन मेरो घर तोडफोड, लुटपाट गर्न आउनेलाई लुटेरा भन्छु म ।’